२०८१ बैशाख १३, बिहीबार    

निकुञ्जविरुद्ध आन्दोलन गर्ने मनहरीका अध्यक्षको चेतावनी

२०८० जेठ ८, सोमबार १९:२३ बजे

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पर्सा राष्ट्रिय निकुञ्जविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय निकुञ्जअन्तर्गत् मध्यवर्ती क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका रहेका जग्गा नापजाँचमै रोक लगाएका कारण आफूहरु आन्दोलित हुन बाध्य भएको अध्यक्ष कालाखेतीले जनाएका छन् । ‘मनहरी गाउँपालिकाको करिब ८० प्रतिशत जग्गा मध्यवर्ती क्षेत्रमा पर्छ । अब यो जग्गाको नापजाँच नहुने हो भने यहाँका स्थानीय आन्दोलित हुने नै भए । त्यसमा हाम्रो समर्थन मात्रै होइन अगुवाइ नै हुनेछ ।’, उनले भने ।

सोमबार सञ्चारकर्मीसँग आफ्नो एकवर्षे कार्यकालमा भएको उपलब्ध जानकारी गराउँदै उनले निकुञ्जका कारण मनहरीको विकास निर्माण र राजस्व संकलनमा समेत असर परिरहेको बताए । ‘मध्यवर्ती क्षेत्रका जनता समस्या नै समस्या छन् । कहिले आर्मीबाट कहिले जनताबाट । नीतिगत तहबाटै यहाँको समस्या हल गर्नुको विकल्प छैन ।’, उनले भने ।

एकवर्षको अवधिमा वडा कार्यालयको भवन, शीत भण्डार, पुल तथा मनहरी गाउँपालिकाको भवन निर्माण कार्यको थालनी भएको बताए । ‘किसान, युवा, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहयोग पुग्ने गरी हामीले काम गरेका छौं ।’, उनले भने ।