२०८१ बैशाख २१, शुक्रबार    

श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको छ : सभामुख

२०८० माघ १३, शनिबार १६:२४ बजे

संघीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उनले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए ।

उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताए । कोषमा हालसम्म ५१ अर्ब २९ करोड संकलन भएको उनले बताए । सभामुखका अनुसार राज्यले कमजोर नागरिकलाई आर्थिक सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो ।

कोषले श्रमिकको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए । संघीयतालाई सही ढङ्गबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र सङ्घीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा सङ्घीय र प्रदेश सरकारको लगानी गर्नुपर्ने बताए । संगठित र औपचारिक क्षेत्रमा २७ लाख श्रमिकमध्ये हालसम्म चार लाख ७८ हजार श्रमिक आबद्ध रहेको र सामाजिक सुरक्षा कोषमा हालसम्म देशभरका एक सय १३ रोजगार दाता संस्थाहरु दर्ता भएका छन् । रासस