२०८१ बैशाख १६, आईतबार    

उपलब्धी र सूर्य चिन्ह केपीले थापालाई बेचे : मुनु

२०७९ कार्तिक २४, बिहीबार १७:१३ बजे

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलले हालसम्मको प्राप्त उपलब्धी र नेकपा एमालेको सूर्य चिन्ह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बेचेको बताएकी छिन् ।

अगुवा कार्यकर्ता भेलामा उनले अब मकवानपुरका एमाले नेताहरुले कम्युनिष्ट भन्न छोडिदिए हुने बताएकी हुन् । ‘संविधान निर्माणार्थ सुझाव संकलनको क्रममा पल्पसा हलमा नेकपा एमालेका नेताहरुलाई व्यवस्था विरोधीहरुले आक्रमण गर्दा रामेश्वर राना लगायतका नेताहरुलाई मीना लामा र म भएर जोगाएका थियौं । मैले मेरो नेतालाई चोट खानबाट जोगाएको थिएँ, आज त्यही नेताको टिकट खोसेर कुर्सी हान्नेलाई केपी ओलीले टिकट दिए । अहिले एमालेका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई कसरी भोट मागेर हिंड्न सकेका छन् अचम्म लाग्छ’, सिग्देलले भनिन्, ‘कम्युनिष्टको पगरी गुथेर कमल थापा बोकेर हिंड्नेहरुलाई यस चुनावमा रुखमा छाप लगाएर जवाफ दिनुपर्ने बेला आएको छ ।’

९ पटक निर्वाचन चुनाव उठेर पटक पटक मन्त्री समेत हुँदा समेत जिल्लाको विकासमा सिन्को नभाँचेका दमनकारीलाई एमालेले बोकेर हिंडेको भन्दै उनले मुलुकको आन्दोलन र प्राप्त उपलब्धीको विरुद्धमा जानेहरुलाई ठेगान लगाउने बेला आएको बताइन् । मकवानपुरमा एमालेले एउटा पनि सिट जित्न नसक्ने दावी गर्दै उनले गठबन्धन दल एकढिक्का रहेको बताइन् । ‘मकवानपुरको क्षेत्र नम्बर १ र प्रदेशसभा ‘ख’ मा हामी सबैको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली नै हो’, उनले भनिन्, ‘यहाँ हाम्रो अरु कुनै चिन्ह छैन ।

एमालेका साथीहरुले समेत रुखमा मतदान गर्नुपर्छ ।’ केपी ओलीले बेचेको सू्र्य चिन्ह अब एमालेको नभएकोले चुनाव चिन्हलाई माया गरिरहन नपर्ने उनको भनाई थियो । मुलुकलाई जोगाउने हो भने गठबन्धनले जित्न जरुरी रहेको सिग्देलको भनाई थियो ।