२०८१ बैशाख १२, बुधबार    

कमल थापा र दीपक सिंह : कसकोविरुद्ध को भारी ?

२०७९ कार्तिक ४, शुक्रबार १९:२२ बजे

‘मैले कसैलाई सम्मान गर्छु भने त्यो कमल दाइलाई मात्रै हो’, मकवानपुर–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि राप्रपाका केन्द्रीय सदस्य दीपक सिंहले भने। यसो भनिरहँदा उनी केही भावुक देखिन्थे । 

तिनै सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। थापा र सिंह कुनै समयको सहयात्री मात्रै होइनन्, सहोदर दाजुभाइभन्दा पनि नजिक थिए। थापा सिंहभन्दा काम, उमेर र अनुभवले अग्रज भए पनि यी दुई सहयात्री थिए। थापा र सिंहबीचको सम्बन्धको बारेमा उम्मेदवारी दर्ता पश्चात् सिंहले दिएको प्रतिक्रियाले नै स्पष्ट पार्छ । 

लामो समयसम्म सिंहलाई थापाले दर्बिलो साथ दिए । तर, केही समय पहिले थापाले राप्रपा छाडेर राप्रपा नेपाल ब्यूँताएपछि यी दुई सहयात्री पार्टीगत रूपमा अलग भए। लामो समय निकै नजिक रहेर काम गरेका यी दुई आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा निर्वाचनमा एक-अर्काविरुद्ध खडा भएका छन् । सिंह र थापाले मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुले आइतबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराए। सिंहले राप्रपाबाट उम्मेदवारी दिएका छन् भने थापा एमालेको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका छन् । 

केही समयअघि दीपक सिंह आफ्नो भाइभन्दा पनि प्रिय रहेका भन्दै आफूविरुद्ध खडा हुन नसक्ने बताएका थिए। ‘दीपक मेरो अत्यन्तै निकटको भाइ हो। हामीले सँगै रहेर धेरै काम गर्‍यौँ। राजनीतिक रूपमा मात्रै नभई भावनात्मक रुपमा पनि हामी निकै नजिक छौँ। त्यसैले उसले मेरो विरुद्वमा उम्मेदवारी दिदै दिँदैन’, थापाले विश्वासका साथ भनेका थिए । 

तर उनको विश्वासलाई सिंहले आइतबार तोडिदिएका छन्। अब मंसिर ४ सम्म उनीहरू एकअर्का सामु प्रतिस्पर्धीको रूपमा उभिने छन् । थापा आइतबार गाडीमा हुइँकिएर उम्मेदवारी दिन गएका थिए। उनी फर्किँदै गर्दा सिंह र्यालीसहित हिँडेर उम्मेदवारी दिन आउँदै थिए। थापाको समर्थनमा आएका कार्यकर्ताहरूलाई अंगाल्दै सिंहले भने, ‘अहिले उता गएर आए पनि भोट चाहिँ मलाई नै हाल्नु नि!’ एकएक गरेर उनले थापाको उम्मेदवारी दर्ता गराएर आएका सबैलाई  अंगाल्ने, गाला मुसार्ने र धाप मार्ने गरे । 

थापाको कार्यकर्तामाथि प्रेमको छडी चलाउन खाजेका उनले उम्मेदवारी दर्ता गरेर निस्किएपछि थापाप्रति आफ्नो प्रेम र सम्मान धेरै रहेको सुनाए। ‘कमल दाइप्रति प्रेम र सम्मान धेरै छ। मेरो अहिलेको लडाइँ व्यक्तिगत होइन राजनीतिक हो । उहाँले पार्टी, सिद्धान्त र नीति सबै त्याग्नुभयो। मैले त्याग्न  सकिनँ’, उनले भने, ‘हुँदा हुँदा उहाँ एमाले बन्नुभयो। त्यसैले मैले सिद्वान्तको लडाइँ लड्न  लागेको हो।’
 
२०५१ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट विजयी भए बाहेक थापा अहिलेसम्म प्रत्यक्ष निर्वाचित हुन सकेका छैनन्। सिंहले पहिलोपटक प्रतिनिधिसभामा जाने आकांक्षा देखाएका हुन्। यसअघि संविधानसभा निर्वाचन तथा गत वैशाखमा सम्पन्न हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा पराजित भएका थिए ।

मकवानपुरमा रहेका यी दुई पूर्व पञ्च मात्र यस्ता नेता हुन् जो निर्वाचनमा खडा हुँदा मात्र राप्रपाको मत देखिने गरी आउँछ । पछिल्लो समय सिंहले अझ आफ्नो मत बढाएका छन्। लिङ्देन नेतृत्वमा लागेपछि सिंहको मत बढेको छ। गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मात्रै सिंहले २० हजार मत कटाएका थिए । 

मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १९ मध्ये १५ वटा वडा पर्छन् भने बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका चार वटा वडा पर्छन् । यो क्षेत्रमा गठबन्धनबाट कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) ले उम्मेदवारी दिएकी छिन्। मकवानपुर–१ सिंह, थापा र  डीनाबीच भिडन्त हुने देखिएको छ। थापाले सिंहलाई रोक्न अनेक प्रयास गरेका थिए । तर पनि उनी सफल भएनन्।