२०८१ बैशाख १५, शनिबार    

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ मापदण्ड स्थगित

२०७९ आश्विन २, आईतबार ०९:५३ बजे

बागमती प्रदेशमा असोज १ गतेदेखि लागू हुने भनिएको सवारी चालक  अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ  मापदण्ड स्थगित भएको छ ।असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा नयाँ मापदण्ड लागू गर्न लागेको थियो। अन्तिम समयमा आवश्यक तयारी नपुगेको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड कार्यान्वयन सरकारले स्थगित गरेको हो।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्नेलले आवश्यक तयारी नपुगेकाले तत्कालका लागि उक्त मापदण्ड स्थगित गरिएको जानकारी दिए। पोखेलले भने, 'अहिले आवश्यक सबै तयारी गर्न सकिएन।

त्यसैले आज बसेको मन्त्रिस्तरीय बैठकले तत्कालका लागि उक्त मापदण्ड लागू नगर्ने निर्णय गरेको छ', उनले भने। पोखलले अहिले लाइसेन्सको परीक्षा दिनेको संख्या धेरै भएकाले मापदण्ड लागू गर्न नसकिएको बताए। संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थानुसारको मापदण्ड लागू गर्ने लागेको प्रदेश सरकारको तयारी थियो।

सरकारले प्रदेशमा शनिबार असोज १ गतेदेखि लाइसेन्सको परीक्षा हुने पाँचै यातायात कार्यालयबाट नयाँ निर्देशिकाअनुसार परीक्षा सञ्चालन गरिने बताए पनि अन्तिम समयमा स्थगित गरेको हो। मन्त्रालयका प्रवक्ता पोख्रेलका अनुसार नयाँ मापदण्ड लागू भएमा लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ। प्रदेशको हेटौंडामा एउटा र काठमाडौंमा चारवटा स्थानबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ। चालू आर्थिक वर्षभित्रै चितवन र सिन्धुलीको खुर्कोटबाट पनि लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको पोखेलले बताए।

नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ। मोटरसाइकलको परीक्षामा कहींकतै छोए वा भुई टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ।