२०८० चैत्र १५, बिहीबार    

वर्षाअघि कुलेखानी थप सुकाइँदै

२०८० जेठ १४, आईतबार १८:४१ बजे

मकवानपुरको मार्खु क्षेत्रमा पुग्ने धेरैले अहिले व्यक्त गर्ने चिन्ता हो, कुलेखानी जलविद्युत आयोजनाको जलाशय त नराम्रोसँग सुकाइएछ । हुन पनि कुलेखानी जलाशयमा जसरी पानी सुकेको छ, त्यसले सुन्दर इन्द्रसरोवर ताल कुरुप देखिएको छ । स्थानीयबासी र पर्यटकहरुले यसरी पानीको सतह घट्नुलाई राम्रो मानेका छैनन् ।

तर, नेपाल विद्युत प्राधिकरण अझै यो जलाशयको पानी प्रयोग गर्ने योजनामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिलेको भन्दा १० मिटर कम हुने गरी जलाशयको पानी उपयोग गरिने बताउँछन् ।

गत वर्षायाममा कुलेखानीको जलसतह समुद्र सतहबाट १ हजार ५३० मिटरमा पुगेको थियो । हिउँदको समयमा प्राधिकरणले जालाशयको पानीबाट विद्युत निकालेपछि जलसतह १ हजार ४९३ मिटरको उचाइमा झरेको छ ।

‘कुलेखानी जलाशयको सुख्खायाममा पानी चलाउने नै हो, जलाशययुक्त आयोजनाको पानी वर्षायाम जति धेरै चलाउन सकिन्छ उति लाभ हुन्छ,’ उनी भन्छन्, ‘वर्षअघि अझै १० मिटर पानी कम हुने गरी जलाशय चलाउँछौं ।’

हिउँदमा पानी उपयोग गर्दा वर्षायाममा भर्न ठाउँ हुने उनले बताए । वर्षायाममा विगतमा जसरी कुलेखानीको पानी खोलर फाल्ने अवस्था आउन नदिने उनले बताए । हिउँदमा भारतबाट विद्युत आयात हुने बेलामा जलाशयको पानी उपयोग नगरेमा वर्षायाममा नदी प्रवाही आयोजनाबाट उत्पादित बिजुली पर्याप्त हुँदा कुलेखानीको पानी पनि खोलेर फाल्नुपर्ने उनको तर्क छ ।

‘वर्षायाममा कुलेखानीको पानी जोगाउने र हिउँदमा कुलेखानीको उपयोग गरेर सकेसम्म विद्युत आयात घटाउने योजनाअनुसार नै कुलेखानीको पानी उपयोग गरेका हौं,’ उनी भन्छन् ।

मकवानपुर उत्तरी क्षेत्रस्थित देशकै ‘पावर ब्याकअप’ को रुपमा परिचित कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्मको तहमा पानी भर्न सकिन्छ ।

राष्ट्रिय प्रसारणमा बढी विद्युत माग हुने समयमा कुलेखानीको बिजुलीलाई सबैभन्दा भरपर्दो स्रोत मानिन्छ । प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युतगृह नचलाई राख्ने गरिएको छ ।

कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । प्रणालीमा सन्तुलन कायम गर्न कुलेखानीको भूमिका पनि महत्वपूर्ण मानिन्छ ।

कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीनवटै आयोजनाबाट एकसाथ ११४ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानी पहिलोमा ६० मेगावाट, दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट उत्पादन क्षमता छ ।