२०८१ बैशाख ८, शनिबार    

अंकगणितमा प्रदेशसभातर्फ गठबन्धनका आनन्दराम पराजुली अगाडि

२०७९ कार्तिक २३, बुधबार १६:११ बजे
 
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मकवानपुरका उम्मेदवारहरु चुनावी सभा तथा घरदैलोमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको पक्षमा अडकलवाजि र अंकगणित सुरु भइसकेको छ । पार्टीका नेता कार्यकर्ता गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई जोड घटाउ गरेर हार जितको वकालत गर्न थालिएको छ ।
 
दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा रहेको मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ र क्षेत्र नम्बर २ मा एक लाख ५० हजार ५ सय ७७ मतदाता रहेका छन् । यता मकवानपुरको क्षेत्र नम्बर १ को (ख) मा अघिल्लो पटकभन्दा यसपटक फरक गठजोड बनेको छ । राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको हो । स्थानीय तह निर्वाचन–२०७९ मा ४२ हजार मत खसेको यस क्षेत्रको वडामा यस पटक ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ गरी १२ वटा वडा पर्दछन् ।
 
प्रदेश सभा क्षेत्र नम्बर १ को (ख)मा नेपाली कांग्रेसका तर्फबाट आनन्दराम पराजुली, एमालेबाट जिल्ला अध्यक्ष एकलाल श्रेष्ट र राप्रपाका गुञ्जबहादुर न्यौपाने चुनावी मैदानमा छन् भने केहि साना दल र स्वतन्त्र उम्मेदवाहरु पनि यहाँ चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि विगतको निर्वाचना र स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस चुनावी क्षेत्रमा कांग्रेस, एमाले र राप्रपाबीच त्रिपक्षिय भिडन्त हुने पक्का छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) बिच समिकरण भएर सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा वडा अध्यक्षमा कांग्रेस, १ वटा वडा नेकपा (एस ) र १ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । यस्तै वडा नम्बर ४, ५, १०, १३, १४ र १५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । ६ वटा वडा काग्रेस सहित गठबन्धन र ६ वटा वडा एमाले एक्लैले जितेको छ तर गठबन्धनको मतान्तर बढी रहेको र राप्रपा पनि एकल चुनावी मैदानमा रहेकोले उसलाई चुनाव जित्नको लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ ।
 
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडाको नगर प्रमुखमा पराजुली झिनो मतान्तरले पराजित बनेका थिए । एमालेका मेयरका उम्मेदवार हरि बहादुर महतले तेइस हजार एकसय २४ मत प्राप्त गर्दा पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए । अहिलेका उम्मेदवारहरुमध्ये पराजुली विशेष चर्चामा छन् । उनी विगतको स्थानीय तह निर्वाचनमा हेटौंडाको प्रमुखमा झिनो मतान्तरले पराजित भएकाले उनीप्रति धेरैको साहनुभूति देखिन्छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १२ वटा वडा मध्य ४ वटा नेपाली कांग्रेसले १।१ वडामा नेकपा (एस) र माओवादी केन्द्रले जित हात पारेको थियो भने वडा नम्बर १२ मा कांग्रेस एकल चुनाव लडेको थियो जसमा माओवादी केन्द्रका उम्मेदवार भन्दा ३९ मतले कांग्रेसका उम्मेदवार पराजीत भएका थिए । यता हेटौंडाको मेयर र उपमेयर पनि गठबन्धन दलकै नेकपा(एस) र कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । मेयरमा नेकपा (एस)की मिना कुमारी लामाले २३ हजार ७५ मत र उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले ३२ हजार ५ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
 
स्थानीय तहको निर्वाचन–२०७९ मा यस क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत गठबन्धन दलनै अगाडि देखिन्छ भने एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहेको छ । स्थानीय तह चुनावमा यस क्षेत्रमा पर्ने हेटौंडाका वडाहरुमा कांग्रेस सहित नेकपा(एस) र माओवादी केन्द्रका वडाध्यक्षहरुले २० हजार ६ सय ३४, एमालेको वडाध्यक्षले १९ हजार २ सय ४६ र राप्रपाका उम्मेदवारले २ हजार ८ सय ४९ मत पाएका थिए । यो तथ्यांक हेर्दा लोकतान्त्रिक बाम गठबन्धन १ हजार ३ सय ८८ मतले एमालेभन्दा अगाडि छ भने गठबन्धन १७ हजार ७ सय ८५ मतले राप्रपा भन्दा अगाडि रहेको देखिन्छ ।
 
स्थानीय तहको निर्वाचन पछि थपिएको मतदाताको मतले को विजयी हुन्छ भन्ने कुरा चाहि मंसिर ४ मा सम्पन्न निर्वाचन पछिको मतगणानालाई नै कुर्नुपर्नेछ ।