२०८१ बैशाख १६, आईतबार    

हेटौंडामा मनाइयो क्षयरोग दिवस, शंका लागे परीक्षण गर्न आग्रह

२०७८ चैत्र १०, बिहीबार १३:५५ बजे

‘क्षयरोग अन्त्यका लागि लगानी गरौं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस २०२२ विहीबार हेटौंडामा मनाइएको छ ।

हेटौंडा अस्पताल परिसरबाट सचेतनामूलक र्‍यालीसहित बजार परिक्रमा गरी दिवस मनाइएको हो । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा सचेतनामूलक र्‍याली भएको थियो । मन्त्री लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन् । उनले विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा कोरोनासंगै क्षयरोगको परीक्षणका लागि आग्रह गरेका हुन् ।

सरकारले रोगहरुको पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकोले यसबाट समेत क्षयरोगको बेलैमा पहिचानमा मद्धत पुग्ने जनाउँदै मन्त्री लामाले क्षयरोगको उपचार सेवा तथा औषधि नि:शुल्क रहेकाले बेलैमा यसको पहिचान गरी उपचारमा लाग्न हुन प्रदेशबासीमा अनुरोध गरेका छन् ।

धुम्रपान मध्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बीसीजीको खोप लगाउने र रोगको संक्रमण अरुमा फैलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहनु जरुरी रहेको उनको भनाइ छ ।