२०८१ बैशाख १४, शुक्रबार    

मनहरी खोलाले बगाउँदा एकको मृत्यु,एक बेपत्ता

२०७९ भाद्र ५, आईतबार १४:३० बजे

मकवानपुरको कैलाश गाउँपालिका—१० स्थित मनहरी खोलामा डुबेर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् । एक महिलाको शव आइतबार बिहान कैलाश गाउँपालिका—३ भुपटारस्थित मनहरी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कैलाश गाउँपालिका—१० नामेसदुङकी ३३ वर्षीय सन्जुमाया चेपाङको शव भुपटारमा फेला परेको थियो । बगाएको स्थानबाट भुपटार झन्डै ४ किलोमिटर तल पर्छ । चेपाङसँगै खोलामा बेपत्ता भएकी ४६ वर्षीया माइलीमाया जिम्वा अहिलेसम्म फेला परेकी छैनन् । स्थानीयवासी र प्रहरी टोलीले शनिबार बेलुकादेखि नै मनहरी खोलाको विभिन्न स्थानमा खोजी गरिरहेका छन् ।

शनिबार बेलुका धाधरका एक कृषकको धान गोडेर घर फर्कने क्रममा तीन जना महिलालाई मनहरी खोलाले बगाएको थियो । विमला विकको शनिबार बेलुकै घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ । मनहरी खोला तर्ने क्रममा माथिबाट एक्कासि बाढी आएकाले उनीहरुलाई बगाएको वडाध्यक्ष सुर्यकान्छा तामाङले बताए ।