२०८१ बैशाख १२, बुधबार    

विश्वकपको हिसाबकिताब

२०७९ मंसिर ३, शनिबार १३:५८ बजे

प्रतियोगिताकै इतिहासमा सबैभन्दा विवादास्पद मात्रै होइन, उत्तिकै खर्चालु पनि हो– कतार विश्वकप । कुनै विश्वकपमा यति धेरै खर्च कहिल्यै भएकै थिएन भन्नेहरू ठोकुवा गरेर भन्छन्– अब आउने विश्वकपमा पनि यति धेरै खर्च हुनेछैन ।

कतार विश्वकपको लागत खर्चको हिसाबकिताब १८ अर्ब डलरको छ । प्रतियोगितामाथि अनेकथरीका विवाद भए नै, यससँग जोडिएको अर्थतन्त्रको विषय पनि उल्लेखनीय छ ।

धरैले जिब्रो टोक्ने के तथ्यमा हो भने खाडी क्षेत्रको यो सानो देशले यति खर्च गर्ने मन कसरी पो बनायो होला । सबैलाई थाहा छ, जम्माजम्मी ३० लाख जनसंख्या पनि नभएको देश हो कतार । क्षेत्रफल पनि साढे ११ हजार वर्गकिलोमिटरको हाराहारीमा त हो ! त्यसैले जनसंख्या र क्षेत्रफल दुवै आधारमा कतार विश्वकप आयोजना गर्ने सबैभन्दा सानो देश हो । तर, यही सानो देशले प्रतियोगिता आयोजना गर्न गरेको खर्च भने सबैभन्दा ठूलो छ ।

कतारले खेलकुदकै नाममा आफ्नो पहिचान बनाउन थालेको अहिले होइन । विश्वकप अगाडि पनि कतारले ठूला ठूला केही प्रतियोगिता गरिसकेको छ । जस्तो विश्व एथलेटिक्स च्याम्पियनसिप, एसियाकप फुटबल । केही वर्षअघि एसियाली खेलकुद गरेको कतारले फेरि यही प्रतियोगिता सन् २०३० मा पनि गर्दैछ । सारमा भन्दा कतारले आफ्नो छवि राम्रो बनाउन र प्रतिष्ठा बढाउन खेलकुदलाई माध्यम बनाएको छ र विश्वकप यसको चरम उत्कर्ष हो ।

कतारकै देखासिखी गरी अन्य खाडी देशले पनि खेलकुदमा ठूलै रकम खन्याउन थालेका छन् । केही अर्थविज्ञको अनुमान छ, विश्वकप आयोजनापछि कतारको अर्थतन्त्र अबको पाँच वर्षमा ८.७ प्रतिशतले बढ्नेछ । विश्वकप आयोजनाकै कारण कतार खाडी क्षेत्रमा राजनीतिकदेखि अन्य धेरै क्षेत्रमा सबैभन्दा बढी प्रतिष्ठित हुनेछ । र, कतार खेलकुदको दृष्टिकोणले केन्द्रविन्दु हुनेछ नै, कूटनीति, सांस्कृतिक र व्यवसायको दृष्टिकोणले पनि खाडीको नम्बर १ देश हुनेछ ।

त्यसको अर्थ के पनि हो भने हुन सक्छ, अबका वर्षमा खाडी देशहरूको नेतृत्वकर्ता हुनेछ, उसले राजनीतिक रूपमा विश्वस्तरीय मुद्दामा अगुवाइ गर्नेछ । सम्भवतः यो प्रभाव खाडी देशमै मात्र सीमित हुनेछैन, कतार अरब देशहरूको पनि नेतृत्वकर्ता हुन सक्नेछ । यसको स्पष्ट नक्सा त अहिले नै देखापरिसकेको छ, विशेषतः आर्थिक रूपमा । कतार विश्वकपले कतारलाई मात्रै फाइदा गर्नेछैन, खाडी क्षेत्रका अन्य देशलाई पनि उत्तिकै नाफामा राख्नेछ ।

दोहाबाहेक छिमेकी दुबई पनि अझ बढी मालामाल हुन सक्नेछ । साउदी अरेबिया कतारको प्रमुख शत्रु देश हो अनि सबैभन्दा नजिकको छिमेकी पनि । विश्वकपकै कारण साउदी अरेबिया पनि प्रभावित नभई बस्न सक्नेछैन । उसलाई पनि फाइदा हुने मानिएको छ । त्यति मात्र होइन, हुँदाहुँदा इरानले पनि आफ्नो अर्थतन्त्र चलायमान भएको अनुभव गर्न सक्नेछ । भन्न करै लाग्छ, कतारले विश्वकपका लागि गरेको खर्च खालि खर्च मात्रै होइन, उसको प्रभाव पक्कै धेरै बढ्नेछ ।

रंगशालामै धेरै खर्च

कतारले विश्वकप आयोजनाको अधिकार पाउनुअघि दोहामा राम्रो भन्न सकिने र विश्वकपमा प्रयोग गर्न सकिने खालि एउटै रंगशाला थियो । कतारलाई केही नभए पनि थप सात रंगशाला बनाउनु आवश्यक थियो । भएको एउटालाई पनि पूरै पुनर्निर्माण गर्न आवश्यक थियो ।

त्यतिबेलै खुब आलोचना भयो कतारको । तर, कतारले नयाँ रंगशालाहरूका लागि दिल खोलेर खर्च गरेको थियो, लगभग शून्यको केही नभएको स्थितिबाट । पछिल्लो १२ वर्षमा यी रंगशाला बनाउन मात्रै ६ अर्ब ५० करोड डलर खर्च भएको अनुमान छ । फेरि रंगशाला पनि ‘स्टेट अफ आर्ट’ पाराले बनाउनु आवश्यक थियो, त्यसैले मस्त खर्च हुने नै भयो । विश्वकपकै लागि लुसेल आइकोलिन रंगशाला बनाइएको थियो । यसको दर्शक क्षमता रहेको छ, ८० हजार । कतारको सबैभन्दा ठूलो रंगशालाले डिसेम्बर १८ मा हुने फाइनलको आतिथ्य गर्नेछ । प्रतियोगिताको पहिलो फाइनल पनि यहीं हुने हो । रंगशाला लुसेलमा बनेको छ र यो त्यस्तो दुई जनसंख्याको प्रस्तावित सहर हो, जसलाई योजनाबद्ध ढंगले मध्यदोहाबाट १५ किलोमिटर टाढा बनाइएको छ । विश्वकपपछि यसलाई ‘कम्युनिटी हब’ मा परिणत गरिनेछ । यस रंगशालामा रहेका कुर्सीलाई अन्यत्र सारिनेछ अथवा कसैलाई सहयोग दिइनेछ ।

अल–बयात रंगशालाको दर्शक क्षमता ६० हजार छ । यसको निर्माण ‘बेडोइन टेन्ट’ को आकारमा गरिएको छ । प्रतियोगिताका बेला यसको माथिल्लो भाग हटाउने योजना पनि छ । यो रंगशाला कतारको उत्तर–पूर्व तटीय क्षेत्रमा छ । दोहाबाट यो ३५ किलोमिटर टाढा छ र यहाँ पुग्न मेट्रो प्रयोग गर्नुपर्छ । एडुकेसनल सिटी रंगशाला पुग्न पनि मेट्रोको प्रयोग गर्नुपर्ने हुन्छ । यहाँ एउटा क्वाटरफाइनल खेल हुनेछ । अहमद विन अलि रंगशाला पुग्न पनि मेट्रो आवश्यक हुनेछ ।

यो रंगशाला यस्तो स्थानमा छ, जहाँबाट सहर अन्त्य हुन्छ र मरुभूमि सुरु हुन्छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सन् १९८६ मा गरिएको थियो र यो नै एक मात्र रंगशाला हो, जुन कतारले विश्वकप आयोजनाको अधिकार पाउनुअघि नै अस्तित्वमा थियो । तर, त्यसपछि यसमा धेरै सुधार गरिएको छ । अल–थुमामा रंगशाला मध्यदोहाबाट दक्षिणमा पर्छ, त्यसैले यो हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक छ, अनि मध्यपूर्वमा पुरुषले लगाउने एक पारम्परिक टोपी ‘गफिया’ को आकारमा यो रंगशाला बनाइएको छ ।

स्टेडियम ९७४ रंगशालाको निर्माण सिपिङ कन्टेनरको प्रयोग गरेर बनाइएको थियो र विश्वकपपछि यसलाई पूर्णतः विस्थापित गरिनेछ । कतारको डाइलिङ कोड नम्बर हो, ९७४ । यसकै प्रतीकका रूपमा यस रंगशालाको नाम जुराइएको हो । अल–जनोब रंगशाला भने त्यस्तो डुंगाको आकारमा छ, जसको प्रयोग परम्परागत माछा मार्ने काममा प्रयोग हुन्थ्यो ।

कतारले विश्वकपलाई नै ध्यानमा राखेर मेट्रो सेवा सुरु गरेको हो– ड्राइभरबिनाका मेट्रो । यो अत्याधुनिक छ र यसका लागि कतारले तीन अर्ब ६० करोड डलर खर्च गरेको छ । यी मेट्रोले आठमध्ये पाँच रंगशालालाई एकआपसमा जोड्नेछ ।

समर्थकलाई सास्ती

फुटबल समर्थकका लागि यत्तिको महँगो विश्वकप अहिलेसम्म भएको थिएन । एउटा संस्था छ, द फुटबल सपोटर्स एसोसिएसन । उसको भनाइ छ, समर्थकका लागि यो असाध्यै महँगो विश्वकप हो, त्यसैले जसले कतारमै गएर विश्वकप हेर्नेछ, उसले घर फर्केयता आफू आर्थिक रूपमा केही कमजोर भएको महसुस गर्नेछ । यसबारे उदाहरण दिन इंग्लिस मिडियामै भर पर्नुपर्नेछ ।

आशा गरौं, इंग्ल्यान्ड फाइनल पुग्यो । कोही समर्थक इंग्लिस टिमलाई सुरुदेखि अन्त्यसम्मै पछ्याउँछ र उसका खेल हेर्छ भने कम्तीमा ६ हजार डलर जति खर्च हुनेछ । कोही कसैलाई यो सस्तो पनि लाग्न सक्नेछ, तर यो रकम सबैभन्दा सस्तो सुविधा उपयोग गरेर हुने खर्च मात्रै हो । कतार जाने, एकदमै थोरै खर्च गर्ने, कुनै सोख भए पूरा नगर्ने । हदै कन्ज्युस्याइँ गरेर बस्ने । यत्ति गर्दा पनि ६ हजार डलर खर्च हुनेछ ।

फुटबल हेर्न अहिलेसम्म ३० लाखको हाराहारीमा टिकट बिक्री भइसकेको छ, तर तिनै इंग्लिस मिडियालाई आधार मान्ने हो भने त्यस्ता धेरै हुनेछन्, जो टिकट किनेर पनि कतार जाने छैनन् । कारण– धेरैलाई डर छ, विश्वकप हेर्न कतार त पुगियो, तर खेल नहुँदाको समय केही गर्न पाइनेछैन, कहीं घुम्न जाने ठाउँ फनि छैन । केही गर्न खोजे, त्यसमा रोक हुन सक्नेछ ।

कतार बसुन्जेल त्रुजमा चढ्ने इच्छा भए, त्यो पनि उत्तिकै महँगो छ । दुई साताका लागि बस्ने, खाने ठाउँ होस झनेर त्रुजको संख्या पनि बढाइएको छ । विश्वकपकै लागि १२ लाख जति फुटबल समर्थक कतार जाने–आउने गर्नेछन्, तर यो वर्षको सुरुमा उपलब्ध होटलको कोठा थियो, ३१ हजारभन्दा केही बढी । दोहा छेउछाउका जहाजमा एक रात बस्ने हो भने पनि कम्तीमा पाँच डलर तिर्नुे छ, त्यो पनि प्रतिव्यक्तिले । रमाइलो के भने लिग चरणमा सबैखाले शुल्क बढिरहेको छ । नकआउट चरण सुरु भएपछि समर्थकले केही राहत महसुस गर्न सक्नेछन् । कतारले मात्रै सबै पाहुनालाई आतिथ्य दिन नसक्ने भएकाले दुबई अर्को प्रमुख गन्तव्य हुनेछ । दुबईले एक लाख १५ हजार होटलका कोठा दिन सक्छ, त्यसैले विश्वकपका बेला कतार एयरवेज र फ्लाई दुबईले प्रत्येक दिन दोहाबाट दुबई ५४ फ्लाइट उडाउनेछ ।

त्यसको अर्थ दोहाको विमानस्थलमा विमान उडेको उड्दै हुनेछन् । दोहाबाहिर मरुभूमितिर पनि टेन्ट हालिनेछ । अहिले तत्कालका लागि हजारौं संख्यामा टेन्ट हालेर बस्ने व्यवस्था हुनेछ र त्यसमा रहनु पनि प्रत्येक रातको दुई सय डलर तिर्नुपर्नेछ । विश्वकपका लागि कतार जानेले प्रत्येक पाइलामा खर्च गर्नुपर्नेछ । समर्थकका लागि विश्वकप महँगो साबित हुनेछ ।

फिफालाई नाफैनाफा

फिफाको भागमा ‘अपरेटिङ कस्ट’ परेको छ । सबैभन्दा ठूलो भाग पुरस्कार राशिमै छ । यसपल्टको विश्वकपको कुल पुरस्कार राशि ४४ करोड डलर छ, जसमध्ये विजेता टिमले पाउनेछ, चार करोड २० लाख डलर । विश्वकपका लागि जति पनि टिम छनोट भएका छन्, ती सबै खाली हात घर फर्कने छैनन् । त्यो के अर्थमा भने कुल सहभागी टिमको संख्या छ– ३२ । त्यसमध्ये १६ टिम नकआउट चरणमा पुग्नेछन् ।

बाँकी १६ टिम भने समूह चरणको खेल समाप्तिसँगै घर फर्कनेछन् । यी १६ टिम प्रत्येकले ९० लाख डलर पाउनेछन् । यहाँनिर सबैले एउटा तुलना भने गर्ने गरेको छ । त्यो के भने महिला विश्वकपमा पुरस्कार राशि कति छ ? विश्वास नहुन सक्छ, पुरुष फुटबलको तुलनामा यो १/१६ मात्रै छ । त्यो त ज्यादै कम हो । रकममै हिसाब गर्दा पनि महिला विश्वकपको कुल पुरस्कार राशि जम्मा तीन करोड डलर मात्रै छ, त्यसैले यी दुई विश्वकपबीच तुलनै हुन्न ।

विश्वकपको कमाइको सबैभन्दा ठूलो स्रोत टेलिभिजन प्रसारणको बिक्री नै हो । त्यसका लागि व्यवस्था पनि गर्नुपर्‍यो । यो रकम पनि धेरै ठूलो छ, २४ करोड ७० लाख डलर । पूरा प्रतियोगिताका क्रममा प्राविधिक जनशक्ति पनि उत्तिकै खटिनुपर्छ । तिनलाई पनि त पारिश्रमिक दिनैपर्‍यो, यसमा खर्च हुनेछ, २० करोड ७० लाख डलर । फिफाले क्लबहरूलाई रकम बाँध्नुपर्ने हुन्छ र यसको आँकडा ३२ करोड ६० लाख डलर पुग्छ ।

त्यस अर्थमा फिफाको ‘अपरेटिङ कस्ट’ पुग्छ, ठ्याक्कै एक अर्ब ७० करोड डलर । तर, फिफा फाइदामै जानेछ । सबैलाई थाहा छ, फिफाको सबैभन्दा ठूलो कमाइ हुने भनेकै विश्वकपबाट हो । फिफाले टेलिभिजन प्रसारण बेचेबापतको रकम मात्र होइन, खेलको टिकट तथा थरीथरीका प्रायोजकबाट उठ्ने रकम पनि सबै उसकै भागमा पुग्छ । यी सबैबाट मात्रै कम्तीमा चार अर्ब ७० करोड डलर उठ्नेछ ।

कुरा यत्तिकैमा सकिन्न । हिसाबै गरौं न, भित्रिने चार अर्ब ७० करोड डलर । खर्च गर्नुपर्ने एक अर्ब ७० करोड डलर । फिफाले सजिलै तीन अर्ब डलर जोगाउनेछ । फिफालाई आफ्ना सबै कामकाज गर्न पनि त बाक्लै रकम चाहिन्छ । त्यसैले कुल आम्दानीको दस प्रतिशत रकम फिफाले त्यसबाट काट्छ र जति रकम बच्छ, त्यो आफ्नो सदस्य देशलाई खेलको विकासको नाममा दिन्छ । फिफाका सदस्य संख्या दुई सयभन्दा माथि छन्, तिनकै भागमा यो रकम पर्नेछ ।   (इकान्तिपुरबाट)