२०८१ बैशाख १५, शनिबार    

साहित्यकार एवं पूर्वशिक्षक तुल्सी थापाको निधन

२०८० भाद्र ८, शुक्रबार १५:१९ बजे

साहित्यकार एवं पूर्व शिक्षक तुल्सी थापाको  निधन भएको छ । थापाको ७८ वर्षको उमेरमा शुक्रबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो । 

मुटुसम्बन्धी समस्या भएका कारण पेसमेकरसमेत जडान गरिएकोले पेसमेकर निकाल्न केही समय लाग्नेछ । शिक्षण पेसाबाट निवृत्त भएपछि थापाले साहित्य रचनामा विशेष योगदान गरेका छन् ।

थापाको दाना कविता संग्रह ‘एक निमेष अनन्तको (२०५८)’, ‘अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)’ र कथासंग्रह ‘फरक आकाश (२०७२)’ प्रकाशित छन् ।

थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवातसमेत गरेका थिए । थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष हुन । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका छन् ।

चेपाङ समुदायबीच लामो समय काम गरेका थापा मकवानपुरको भैंसे बजारमा २००२ साल असोज ३ गते जन्मेका थिए । अहिले उनी हेटौंडा उपमहानगरपालिका—११ मा बसोबास गर्दै आएका थिए । उनको २ छोरी, एक छोरा र श्रीमती छन् ।