२०८१ बैशाख १८, मंगलबार    

रेडियो मकवानपुरद्वारा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण

२०८० माघ १७, बुधबार १३:५७ बजे

रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।

बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड हस्तान्तरण गरिएको हो । ९० प्रतिशत छात्रा अध्ययनरत हेटौंडा क्याम्पसमा विद्यार्थीको सहजताको लागि सेनेटरी प्याड हस्तान्तरण गरिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

हेटौंडा क्याम्पसका अध्यक्ष समेत रहेका रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पस प्रमुख देवीराम लामाको प्रमुख आतिथ्यता रहेको थियो । अधिकांश छात्रा अध्ययनरत क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पराजुलीले बताए ।

सामुदायिक रेडियोको धर्म निर्वाह गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सहयोग अभियानलाई जारी राख्ने बताए । अध्यक्ष पराजुलीले सहयोगी संस्था असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे ।

क्याम्पस प्रमुख लामाले सहयोगलाई सदुपयोग गर्दै छात्राहरुको सहजतामा प्रयोग हुने बताए । कार्यक्रममा असल हाइजिन प्रोडक्ट्स प्रालिका सन्चालक वासुदेव तिमल्सिना, हेटौंडा क्याम्पस प्राध्यापक संघ अध्यक्ष भुपेन्द्र कोइराला, स्ववियु सदस्य गणेश तिमल्सिना लगायतले हेटौंडा क्याम्पसमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख बालकृष्ण शर्मा र रामु कंडेल, प्राध्यापक मनोज पोखरेल, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, दिव्यतारा सहकारीका सह–व्यवस्थापक ईश्वरी शिल्पाकार, स्ववियु सभापति अभी मैनाली लगायतको आतिथ्यता थियो । वार्षिकोत्सव अन्तर्गत १८ गते ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग, १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला र २२ गते समापन कार्यक्रम हुनेछ ।