२०८१ बैशाख ८, शनिबार    

विद्यालयमा जनचेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रम

२०७९ जेठ २३, सोमबार १४:०४ बजे

५० औँ विश्व वातावरण दिवसको दिन आइतबार हेटौंडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सचेतनामूलक नाटक मञ्चन गरिएको छ । नाटक मञ्चनसँगै विद्यालयले आयोजना गरेको वातावरण सप्ताह सम्पन्न भएको छ ।

विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले नाटक मञ्चन गरेका थिए । विद्यार्थीले वातावरण सम्बन्धी नृत्य तथा गीत पनि प्रस्तुत गरेका थिए । वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नवोदयले बस्तीपुर चोक, हटियामा रहेको जनप्रिय मावि र हेटौंडाको बुद्धचोकमा विविध साँस्कृतिक कार्यक्रम गर्नुको साथै वातावरण सम्बन्धी चित्र बनाएका थिए ।

कक्षा ४ का विद्यार्थीले हेटौंडा बजारक्षेत्रमा वातावरण प्रहरी कार्यक्रम सञ्चालन गरेको थियो भने आइतबार कक्षा ३ का विद्यार्थीले सचेतनामूलक र्याली निकाल्नुका साथै पशुपति मन्दिर सरसफाई गरेका थिए । वातावरण दिवसको अवसरमा भएको मोवाइल फोटोग्राफी प्रतियोगितामा प्रहस्थ खड्का प्रथम, दृष्टि प्रधान द्वितीय र इप्सा लामिछाने तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा ९६ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

नवोदय विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्य रहेको थियो । विश्व वातावरण दिवसको अवसरमा हरेक बर्ष नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम क्षेत्रीले जानकारी दिएका छन् ।