२०८१ बैशाख ७, शुक्रबार    

अपहेलित नामले मकवानपुरका दर्जनौं चेपाङलाई सास्ती

२०७९ श्रावण २७, शुक्रबार ०९:२४ बजे

राक्सिराङ गाउँपालिका–८ का वडा अध्यक्ष हुन् युसाई प्रजा । गाउँघरमा हविल नामले उनलाई बोलाउने गरिन्छ । कहिँ कतै नागरिकताको नाम गाउँममा उच्चारण गर्न परे उनी हिच्किचाउँछन् । चेपाङ भाषामा ‘यु’ को अर्थ मुसा र ‘साई’ को अर्थ गेडा भन्ने हुन्छ । उनको नागरिकता बनाउँदा गाउँका गन्यमान्ने र कर्मचारीहरुले चेपाङ समुदायमा मुसासँग सम्बन्धित रहेर हेपेर बोलाउने नाम ‘युसाई’ राखिदिए ।

‘अरुलाई त बरु त्यति थाहा हुन्न, तर गाउँघरमा यो नामले बोलाउँदा आफैलाई अप्ठ्यारो लाग्छ’, उनले भने, ‘नामकै कारण आफू समाजमा हेलमेल गर्ने र अगुवाई गर्ने अबस्थामा छैन । यही नाममा बाध्यताले चुनाव लड्नुपरेको हो ।’ आफुले नाम सच्याउन चाहेपनि सरकारी नीति नियमका कारण हालसम्म नसकेको उनले गुनासो गरे । ‘दैलेख घटनापछि हामीलाई पनि आसा जागेको छ, सिडियोलाई भेटेर नाम सच्याइदिन हामीले अनुरोध गरेका छौं ।’

मकवानपुरको पश्चिमी क्षेत्रमा रहेका चेपाङ समुदायका उनी प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता दर्जनौं स्थानी अपहेलित नामका कारण वर्षौदेखि बिच्छिप्त छन् ।

अर्का एक स्थानीको नाम किदाङ (तामाङ भाषामा गुहुघारी) प्रजा राखिएको छ । बिकेश चेपाङ हुनुपर्नेमा अघिल्लो अक्षर ‘बि’ हटाएर ‘चि’ राखेर नाम पनि नागरिकता दिइएको छ । पिउराम चेपाङलाई बीउराम बनाइएको जस्ता घटनाहरु मकवानपुरको चेपाङ समुदायमा छ्यापछ्याप्ती रहेको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहनु भएको चेपाङ अगुवा सन्तबहादुर चेपाङ (प्रजा) ले बताए । ‘चेपाङ समुदायको नागरिकता बितरण गर्दा त्यस्तै अपमानजनक नामहरु राखेर बितरण गरिएको पाइएको छ’, उनले भने, ‘यस्ता अपमानजनक नाम परिवर्तनको लागि हामीले पहल गरिरहेका छौं । तर अहिलेसम्म सम्भव भएको छैन ।’

नेपाल आदिबासी जनजाति महासंघ मकवानपुरका कोषाध्यक्ष खेमबहादुर चेपाङले गाउँमा कुई (प्रजा) चेपाङ, सार्की चेपाङ (प्रजा), कामी चेपाङ (प्रजा) जस्ता नामहरु राखेर नागरिकता बितरण भएको बताए । ‘कुई भनेको चेपाङ भाषामा कुकुर हो’, उनले भने, ‘दैलेखमा भेटिएको कुकुर कामी नामको नागरिकता र मकवानपुरमा बितरित ‘कुई प्रजा (चेपाङ) को नागरिकतको नाम उस्तै अपमानजनक हो । भाषा मात्र फरक हो ।’

चेपाङ समुदायका सयौं बृद्ध बृद्धाको अझै पनि नागरिकता छैन । पुर्खादेखि नै नागरिकता नबनाएका र नागरिकता नलिएकाहरुलाई चेपाङ संघको पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले टोली खटाएर २०६४ को संविधानसभा चुुनावअघि नागरिकता बितरण गरेको थियो । ‘म नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष भएका बेला नागरिकता टोलीमा आफ्नो समुदायको सहजीकरणका लागि सहभागी हुँदा मेरै आँखै अगाडि ‘चाकमाया प्रजा’ नामको नागरिकता बितरण भएको थियो’, कोषाध्यक्ष चेपाङले भने, ‘नागरिकता बितरण गर्ने कर्मचारीले ‘चाकमाया प्रजा’ भनेर बोलाउँदा सबै गलल्ल हाँसे’ । ती महिला कालो निलो भएर नागरिकता थाप्न बाध्य भइन् ।’

चेपाङ भाषामा राखिएका नामहरुलाई गैरचेपाङ अगुवा र कर्मचारीले उल्टापुल्टा पारिदिँदा अपमानित नाम बोकेर हिड्न बाध्य भएको राज्यन्त्री सन्तबहादुरले बताए । ‘मेरै वडामा २०४४ सालमा बनाइएको एउटा नागरिकतामा नाम छ–‘पिलो प्रजा (चेपाङ)’, उनले भने, ‘चेपाङ भाषामा पिलोक भनेर सिफारिस भएको नाम रहेछ त्यो । पिलोकको अर्थ डल्ले, पुड्के अथवा कम उचाई भएको मानिस भन्ने बुझिन्छ । तर, ‘पिलोक’ को अन्त्यमा लागेको ‘क’ हटाएर पिलो मात्र राखेर नागरिकता दियो ।’

दैलेखमा कुकुर कामीको नाममा दिएको नागरिकताको बारेमा राष्ट्रिय बहसपछि उक्त नाम सच्याउन गृह मन्त्रालयले निर्देशन दिएपछि अन्य अपहेलित नामहरु पनि सच्निेमा पीडित चेपाङहरु आसावादी छन् । राज्य मन्त्री सन्तबहादुर, वडा अध्यक्ष हविल, सञ्चारकर्मी शिव कुमार काशी सहितको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले गृह मन्त्रालयको निर्देशन प्राप्त भएपछि त्यस्ता नागरिकताहरु सच्याउन प्रक्रिया अघि बढाइने बताए । ‘तपाईहरुले गृह मन्त्रालयको विज्ञेप्ती त हेर्नुभएकै छ, तर हामीलाई निर्देशन लिखित आउने क्रममा रहेको बुझेको छु’, उनले भने, ‘लिखित सर्कुलर आएपछि आमी आएका गुनासोहरु सम्बोधन गरेर नाम सच्याउने काम अघि बढाउँछौं ।’