२०७९ आश्विन १८, मंगलबार    

बस दुर्घटना :सातको मृत्यु, तीनको भरतपुर रिफर, २३ जनाको हेटौंडामा उपचार

२०७९ आश्विन ६, बिहीबार १८:११ बजे

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको यात्रुबाहक मिनि बस दुर्घटना मृत्यु हुनेको संख्या सात पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तिमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ५० मिटर तलको मोडमा बस खसेको थियो ।

बस दुर्घटनाले छोटो मार्ग अवरुद्ध भएको थियो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेका थियो । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइते भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौंडा ल्याइएको थियो ।