२०८१ बैशाख १६, आईतबार    

मसिनेमा डीप बोरिङमार्फत पानी खुवाइँदै

२०८० पौष २९, आईतबार १८:३८ बजे

मकवानपुरको मनहरी गाउँपालिका ४ माथिल्लो मसिनेमा डीप बोरिङमार्फत खानेपानी खुवाउने तयारी गरिएको छ ।

लामो समय खर्चिँदै कुवा तथा खोलाको पानी ल्याएर प्रयोग गर्न बाध्य माथिल्लो मसिने, चुवारपाखा लगायतका क्षेत्रका सर्वसाधारणलको सहजताको लागि डीप बोरिङको पानी व्यवस्था गर्न लागिएको हो । मनहरी गाउँपालिका र वडा कार्यालयको पहलमा खानेपानीको व्यवस्था हुन लागेको हो ।

२०७५ सालमा वडाको ३० लाख बजेटले डीप बोरिङ निर्माण भएपनि पानी भण्डारको लागि ट्याङ्की निर्माण भएको थिएन । अहिले चुवारपाखाको डाँडामा एकलाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण भैरहेको छ । संघीय सरकारको ७० लाख रुपैयाँको बजेटमा अहिले खानेपानी ट्याङ्की निर्माण भैरहेको छ । हेटौंडाको पतिजा निर्माण सेवाले ठेक्का पारेर पुस १ गतेदेखि धमाधम ट्याङ्की निर्माणको काम गरिरहेको छ ।

बैशाख ३० सम्म खानेपानी ट्याङ्की निर्माण सम्पन्न गर्ने सहमति भएपनि तोकिएको समयअघि नै काम सक्काउने लक्ष्य रहेको निर्माण कम्पनीका सञ्चालक श्यामसुन्दर ढकालले जानकारी दिए । मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले यस परियोजनाबाट १५० भन्दा बढी घरधुरी लाभान्वित हुने जानकारी दिए । ‘यस क्षेत्रमा पानीको समस्या छ । त्यही समस्यालाई बुझेर नै वडा र मनहरी गाउँपालिका कार्यालयको पहलमा संघीय सरकारबाट बजेटको व्यवस्था भएको हो’, वडा अध्यक्ष थापाले भने, ‘चाँडै घरघरमा स्वच्छ, सफा पानी पु¥याउने लक्ष्य रहेको छ ।’

‘डीप बोरिङ सञ्चालनमा आएपछि पानीको दुःख हट्छ विश्वास छ’, चुवारपाखाकी ज्ञानुमाया थिङले भनिन्, ‘अहिले हामी खोला र कुवाको पानी प्रयोग गर्नुपर्ने बाध्यतामा छौं । छिट्टै डीप बोरिङको पानी पिउन पाइन्छ भन्ने आशा छ ।’ बैशाखदेखि सर्वसाधारणको घरघरमा पानी पु¥याउने वडा र पालिकाले लक्ष्य लिएको छ । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले सर्वसाधारणलाई सफा र स्वच्छ पानी खुवाउनका लागि पालिकाको तर्फबाट आगामी दिनमा गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए । ट्याङ्की निर्माणसँगै बाँकी कामको प्रक्रिया समेत अघि बढ्ने उनले जानकारी दिए ।