२०८१ बैशाख १४, शुक्रबार    

सामान्य विवादमै महिलाको हत्या गरेर गाड्ने पक्राउ

२०७९ मंसिर २७, मंगलबार १५:३१ बजे

सामान्य विवादकै कारण महिलाको हत्या गरेर आफ्नो घर नजिकैको बारीमा गाड्नेलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा सोही स्थानका ३३ वर्षीय रोज वाइबाको संलग्नता रहेको जनाएको हो । मंसिर १३ गतेदेखि बेपत्ता भएकी सोही स्थानकी ३५ वर्षीया सरस्वती वाइबाको शव शनिबार साँझ आधा शरीर गाडिएको अवस्थामा भेटिएको थियो ।

पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर १७ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । २४ गते मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्दै जाने क्रममा बेलुकाको ७ बजेर ३० मिनेटको समयमा सिस्नेरी ज्यामिरेस्थित रोज वाइबाको बारीमा अनुहार र कपडाको केही भागदेखि खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको थियो ।
तत्काल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।

आइतबार जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिएको थियो । अभियोग लागेको रोज वाइबालाई शंका लागि नियन्त्रणमा लिइ अनुसन्धान गर्दा आफैंले मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको हो भनि स्वीकार गरेको प्रहरीले जनाएको छ ।

‘सामान्य भनाभनहुँदा हत्यासम्म भएको देखिन्छ । बाटोमा दुवैजनाको अचानक भेटहुँदा हत्यामा संलग्न रोजले महिलालाई प्रश्न गरेको र सोझो उत्तर नआएपछि कुटपिट गरेको अनुसन्धानमा देखिन्छ । कुटपिटको क्रममा महिला ढुंगामा ठोक्किन पुगेको उनले बयान दिएका छन् ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले भने, ‘हत्यामा संलग्न र मृतक महिला छिमेकी पनि हुन् ।’

अभियोग लागेका वाइबालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।