२०८१ बैशाख १३, बिहीबार    

राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा आउँदै

२०७९ फाल्गुन ९, मंगलबार ०८:०१ बजे

राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा आउँदै छिन् । आज मंगलबार हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउने भएकी हुन् । राष्ट्रपति भण्डारी मध्यान्ह १२ः१५ बजे हेटौंडा आइपुग्ने समय तय भएको छ ।

राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । कार्यक्रमका लागि अस्पतालको भवन वरपर सरसफाई गरिएको छ । मन्च व्यवस्थापन, अस्पताल अगाडीको सडक निर्माण गरिएको रजिष्ट्रार प्रसाईले बताए ।

उनका अनुसार कार्यक्रमका लागि अस्पतालले ४ वटा उपसमितिहरू निर्माण गरी तयारी गरिएको छ । राष्ट्रपति भण्डारी आउने कार्यक्रमको लागि अस्पतालको भवन वरपर सरसफाइ तथा रंगरोगन, मन्च व्यवस्थापन, प्रचार प्रसार तथा उचित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

संघीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शैया अस्पताल सञ्चालनको क्षमता रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा थप सेवा र सुविधा विस्तार गरी सञ्चालन भइरहेको उनको भनाई छ ।