२०८१ मंसिर २९, शनिबार    

बेसहाराको स्याहार गर्न खुलेका आश्रम नै बेसहारा

२०७९ जेठ १३, शुक्रबार १०:४३ बजे

हजुुरको नाम? मेरो नाम ! कुन नाम, न्वारानको ? नागरिकताको नाम भन्नुस् न! नागरिकतामा न्वारनकै नाम छ, नेत्रकुुमारी । पूरा नाम–नेत्रकुुमारी कठायत ।

नेत्रकुमारीलाई आफ्नो विवाह कति वर्षमा भएको हो भन्ने याद समेत छैन । ‘बल्ल घाँघर लाउन थालेको थिएँ, नौ–दश वर्षकै उमेरमा होला’–उनले निकैबेर सोंचेर भनिन् । विवाह गरेको अढाई वर्षमा श्रीमान्को निधन भयो । अनि बेसहारा भइन्, नेत्रकुमारी । र, सहारा खोज्दै माइती गईन् । श्रीमान्को माया कस्तो हुन्छ भन्ने महसुस गर्नै नपाई ‘बालविधवा’ हुन पुगेकी नेत्रकुमारी माइतीमाभाइ र आमासँग दुःखजेलो गर्दै बसिन् ।

उनीमाथि फेरि अर्को बज्रपात भयो । जब आमाको मृत्यु भयो– अनि भाइले वास्ता गर्न छाडे । फेरि आश्रयको खोजीमा पुगिन् नेत्रकुमारी । आश्रयखोज्दै जाँदा हेटौंडा–१७स्थित श्रीमद्भागवत ज्ञान सञ्चार वृद्धाश्रममा पाइला टेकिन्, उनले । गुनासो गर्दै उनी भन्छिन्, ‘अहिले भगवानकै भरमा छु, चाँडै भगवान्को प्यारो हुन्छु की ! आफ्नो घरपरिवार र सम्पति भएको भए यहाँ आएर किन बस्नु पथ्र्यो र ?’

परिवारसँगै रहेर जे भएको सितो–पिठो खाएर जिन्दगी बिताउनुपर्ने उमेरमा छोरा, छोरी, बुहारी, नाति–नातिनासहितको परिवार छाडेर वृद्धाश्रम पुगेको काजीलाल श्रेष्ठ दम्पतिलाई पनि अहिले आश्रमकै संसार प्यारो लाग्छ । ७ वर्षदेखि आश्रममै बसिरहेको छ, यो दम्पति ।

भूकम्पले घर भत्काएपछि काजीलाल दम्पतीलाईनयाँ घर बनाएर बस्न मन लागेन । ‘बाह्र छोरा, तेह्र नाती बुढाको धोक्रो काँधै माथि’ भनेको जस्तो ७ छोरा ३ छोरीको धनी काजीलाल दम्पती परिवारमा अटाउन सकेन । पारिवारिक माया ममताको अभावले छट्पटिएको यो दम्पती स्वेच्छाले आश्रममा आएर बस्यो ।

श्रीमतीलाई देखाउँदै काजीलाल भन्छन्, ‘मैले भित्राउँदा नौ वर्षकी थिइन्, उनी । नाम कृष्णमाया । हाम्रो नाम एउटै अक्षरबाट उठेको छ।’ ७ छोरा मध्ये कान्छो छोरासँग बस्दै आएको श्रेष्ठ दम्पती २०६४ सालमा दुर्घटनामा छोराको मृत्युपछि समस्यामा प¥यो । सहारा नै दैवले चुँडेर लगेपछि अन्य ६ छोरा हुँदाहुँदै पनि काजीलाल दम्पतीलाई एक्लोपनले सतायो ।

२०७२ सालको भूकम्पलेबस्ने बास खोसेपछि अन्य छोराछोरीकोमा जानुुभन्दा आश्रम नै जानु उचित ठाने काजीलालले । केही निश्चित रकम तिरेर यो दम्पती अहिले वृद्धाश्रममा बसिरहेको छ ।
काजीलाल दम्पतीलाई अहिले सन्तानबारे सोच्न त के छोराछोरीको गन्ती गर्न पनि मन लाग्दैन । आफ्नो दुःख अरुलाई पोख्न पनि रुचाउँदैनन्, काजीलाल । ‘छोरा बुहारी आफ्नो भएनन् । तर, कहिलेकाही बिरामी पर्दा एउटा नाती भेट्न आउँछ ।’

स्याङ्जा वालिङकी खिना गिरीको दिन पनि आश्रममै वितिरहेका छन्, १३ वर्षदेखि । आश्रम पुग्दा खिना फूल गोडिरहेका थिए । उनी भन्छिन्, ‘मेरा आफ्ना भनेका यही आश्रममा बसेकाहरु नै हुन् ।’
ऐयासी धनका घमण्डी मनका फूलमा छ मज्जा भनी
रम्छन् खुब तनमा मपाई सिउरी भईन्न बुढो भनी
शिशिरमा फूल, पात झरे वनका निर्वाङ्ग काँडातिर
उत्तराद्र्ध जीवन् फसेपछि त्यहाँ के फल्छ गर्दा पिर ?

हेटौंडा–१५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतनमा आश्रय लिइरहेका भूपेन्द्र प्रकाश शर्माका हरफ हुन्, यी । कविता सँगसँगै मानिसको जीवनशैलीलाई उनले चित्रमार्फत सुन्दर रङ दिने गरेका छन् ।
ज्येष्ठ नागरिकले आफूमा भएको ज्ञान कला सीपलाई पोख्ने माध्यम बनेको छ, वृद्धाश्रम ।

भूपेन्द्र प्रकाश शर्माका सुन्दर चित्र र मर्मस्पर्शी भावका कविता दिव्य सेवा निकेतनको सौन्दर्य बनेका छन् । आश्रममा बसिरहेकाहरुसँग केही न केही सीप कला हुन्छ भन्ने ठूलो उदाहरण पनि हुन्, उनी । र, आश्रममा बस्ने हरेकसँग केही न केही सीप र कला छ । कोही शिलोक भन्छन् भने त कोही नाच्न सिपालु । यस्ता क्षमताको पहिचान गर्न सक्नुपर्ने आवश्यकता औँल्याउँछन्–दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिएन निरौला ।

विभिन्न कारणलेज्येष्ठ नागरिक वृद्धआश्रमसम्म पुुग्ने गरेका छन् । पारिवारिक बेमेल, अवहेलना, बेवास्ता, एक्लोपन जस्ता समस्या आश्रमसम्म पुुग्ने कारण हुन् ।

८ वर्षको उमेरमा भारत पसेका गर्दइ चिसापानीका गोपालबहादुर क्षेत्री अधिकारी ५० वर्षपछि आफन्त खोज्दै नेपाल फर्किए । आफ्नो जन्मथलो फर्किदा उहाँलाई कसैले चिनेन । लामो समयपछि आफ्नो दाइलाई चिनाउन सके । केही समय दाइकोमा बसेका गोपाल पनि अहिले दिव्य सेवा निकेतनमा आश्रय लिइरहेका छन् ।

आश्रमको दैनिकी
वृद्धआश्रममा आश्रय लिइरहेका अधिकांश ज्येष्ठ नागरिकका कुरा सुन्दा उनीहरु सम्झौताको जीवन जिइरहेको भान हुन्छ । दुईछाक खाना, एक जोर नाना र ओत लाने छाना पाउनु नै भाग्य सम्झिएर जीवन सोंच्नेहरु अहिले पनि धेरैछन् । आश्रमभित्र सबै जना मिलेर बसिरहेकै छन् । आश्रमका वृद्धवृद्धाको दैनिकी प्रायजसो धर्मकर्मका कुरामा बित्छ ।

उस्तै उमेर, उस्तै पीडा, उस्तै कहानी भएकाहरु आपसमा भलाकुसारी गर्दै दिनकटाउँछन् । सक्नेले करेसाबारीमा पनि काम गर्छन् । जे भए पनि उनीहरुको असली घर आश्रम नै बनेको छ । एक अर्काको दुःखसुख सुन्यो, विगतसम्झियो बस्यो ।

ज्येष्ठ नागरिक केही नगरी भने बस्न सक्दैनन् ।काम गर्न सक्ने अवस्थामारहेका ज्येष्ठ नागरिक आफ्नो शरीरले सक्नेसम्म काम गरेर बस्छन् । बिहान बेलुकी फूलबारीमा पानी हाल्ने, गोडमेल गर्ने जस्ता काम उनीहरुका लागि नेचुल थेरापी नैहुन् भन्दा फरक नपर्ला ।

सबै वृद्धाश्रमको आ–आफ्नै नियम छ । बिहान उठ्ने, हातमुख धोएर पूजा पाठ गर्ने, सकेको व्यायम गर्ने आदि इत्यादि । र, आश्रमले तालिका अनुसार खाजा खानाको व्यवस्था गरेका छन् । खाजा खानाको समय भएपछि घण्टी बज्छ । वृद्धवृद्धा लाइनमा बस्छन् । लाइन बस्न नसक्ने अशक्तलाई सहयोगीले खाना लगिदिन्छन् ।

मकवानपुरमा हाल ४ वटा वृद्धाश्रम सञ्चालनमा छन् । श्रीमद्भागवद् ज्ञानसञ्चार वृद्धाआश्रम, ओम वृद्धाआश्रम,श्री सर्वेश्वर महादेव मन्दिर वृद्धाआश्रम र दिव्यसेवा निकेतन । हेटौंडा–९ मा रहेकोमानवसेवा आश्रममा सबै उमेर समूहका व्यक्तिहरु आश्रय लिइरहेका छन् । र, त्यहाँ पनि ज्येष्ठ नागरिकहरु आश्रय लिइरहेका छन् । मकवानपुरका विभिन्न आश्रममा ९६ जना वृद्धवृद्धा छन् । अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी छन् । प्रेसर, सुगर, दम, मानसिक समस्या जस्ता रोगको नियमित औषधिसेवन गर्ने गरेका छन्, अधिकांशले ।

आश्रमको अवस्था
हेटौंडा उपमहानगरपालिका–१९ मा रहेको सर्वेश्वर महादेव मन्दिर वृद्धाश्रमको अवस्था नाजुक छ । त्यहाँ आश्रय लिइरहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय छ । खाना बनाउन चुल्हो समेत नहुँदा आश्रित भोकै बस्नुपर्ने अवस्था छ ।

एक सय वर्षकी कलावती कठायतले भनिन्, ‘पानी पर्दा खाना बनाउन सकिंदैन, कति रात बिस्कुट खाएर सुत्यौँ ।’१२ वर्षदेखि आश्रय लिइरहेकी कठायतको दुःखेसो हो, यो । आश्रमको भान्साकोठामा निर्माणसामग्री राखिएको छ । र, भान्साकोठाबाहिर तीनवटा ढुङ्गा राखेर चुलो बनाएर खाना बनाउने गरेको २३ वर्षदेखि आश्रम बसिरहेका ७५ वर्षीय रामेश्वर घलेले बताए ।

उनी भन्छन्, ‘पहिला ग्यास चुलो थियो । ५–६ महिना भयो न ग्यास सिडिन्डर छ, न ग्यास चुलो । दुई छाक खान मुुस्किल छ ।’ दुई छाक खान पाउन मुश्किल छ भने उनीहरुले पोषणयुक्त खानेकुरा पाउनु त धेरै टाढाको कुरा ।

शौचालयको पनि उस्तै समस्या छ । आश्रमका संरचना समेत ज्येष्ठ नागरिकमैत्री छैन । ज्येष्ठ नागरिकलाई हुनुपर्ने हेरचाह र स्याहार त छैन नै स्वास्थ्य उपचारको समेत व्यवस्था छैन ।

उनीहरुको गुनासो छ– ‘हामीलाई केही तलमाथि भइहाले पनि हेरचाह गर्ने कोही छैन । हामी मृत्यु कुरेर बसिरहेका छौं ।’ र, व्यवस्थापन समितिले चासो नदिएको गुनासो पनि गरे । आश्रम व्यवस्थापन समितिका अध्यक्ष यदुकुमार पाठकलेभने वृद्धवद्धाले खान नपाएको कुरालाई अस्विकार गरे ।

उनी भन्छन्–चामल कुहिएर बसेको छ भने खान नपाउने पनि कुरा हुन्छ?चुलो विनाको चामल के काम?भन्ने प्रश्नमा उनले भने, ‘आश्रमको आम्दानी छैन । धेरै काम गर्न सकिएको छैन । हाम्रो आयश्रोत कतै छैन । आयश्रोत नभई काम गर्न नसकिएको चाहि स्वीकार गरेका छन् ।

आश्रममा जम्मा दुई जना वृद्धवृद्धा छन् । उनीहरुलाई दुई छाक दिन पनि समितिले सकिरहेको छैन । वृद्धवृद्धाले खानै दिएन भनेर गुनासो मात्रै गर्ने गरेको भन्दै अध्यक्ष जंगिए । उनले भने, ‘अब म चलाउन सक्दिन । राजीनामा दिन्छुु।’

चौकीटोलस्थित ओम वृद्धाश्रम सञ्चालनमा पनि कठिनाई रहेको सञ्चालक समितिकी उपाध्यक्ष बेगम बरालले बताइन् । विगत १५ वर्षदेखि सञ्चालक समितिमा रहेर काम गरिरहेकी बराल आश्रम सञ्चालनका लागि समस्या नै समस्या रहेको बताउँछिन् ।

उनका अनुसार दाल, चामल दाताबाट प्राप्त भएपनि तरकारी, दुध, ग्यास, पानी, बत्तीको पैसा, औषधि उपचार लगायत खर्च व्यहोर्न सकिएको छैन । सबै गरेर महिनाको ५० हजार खर्च हुन्छ ।

आश्रममा खाना बनाउने एक जना र सरसफाइ गर्ने एक जनासहित ३० जना छन् । वृद्धाश्रममा आश्रय लिएकाको उपचार, औषधि लगायतमा आर्थिक व्यवस्थापनको भरपर्दो व्यवस्था नहुँदा समस्या पर्ने गरेको छ ।

दाताकै भर पर्नुपर्ने अवस्थाका कारण अभाव टार्न मुश्किल परिरहेको श्रीमद्भागवत ज्ञान सञ्चार वृद्धाश्रमका संरक्षणकर्ता नरनारायण रिमालले बताए । दाताले खाद्यान्न मात्रै सहयोग गर्ने गरेका कारण अन्य खर्चको जोहो गर्न मुश्किल परेको उनको भनाइ छ ।

सुन्दर दिव्य सेवा

पाएनौ श्रमको मूल्य जीवन् जता दले पनी,
त्यसैले परिवार तिम्रा रहेनन् साथमा अनी ।
न त आफन्तीले हेरे न राज्यले दियो मन,
जाऊ भाग्यसँगै बोकी ‘दिव्य सेवा निकेतन’

दिव्य सेवा निकेतनको बारेमा आश्रितको भाव हो, यो । बजारको कोलाहलबाट टाढा, जंगलबीच, हरियाली, सुन्दर वातावरणमा सेवारतदेखिन्छ, दिव्य सेवा निकेतन ।

स्वागतका लागि राखिएका शिव, बुद्ध, सरस्वतीका मुर्ति, अनि सफा सुन्दर, फूलैफूलले स्वागत गरेको महसुस हुने प्रवेशद्वार । रातोमाटेस्थित दिव्य सेवा निकेतन पुग्दा फरक ठाउँमा पुगेको भान हुन्छ । ज्येष्ठ नागरिकमैत्री भवन, अनि उस्तै व्यवस्थापन । दिव्य सेवा निकेतनमा २७ जना वृद्धवृद्धा छन् । आश्रमकै १० शैयाको स्वास्थ्य केन्द्र छ ।

प्रदेश सरकारले एक जना नर्सलाई जागिरे खटाइदिएको छ । आश्रममा फिजियोथेरापीको पनि व्यवस्था छ । आश्रमले नै नर्सबाट फिजियोथेरापीको तालिम लिने व्यवस्था मिलायो । बागमती प्रदेश सरकारकै सहयोगमा ५ वटा तरकारी टनेल बनेका छन् । जहाँ तरकारी उत्पादन हुन्छ । त्यहीँ उत्पादन भएको तरकारीले पुगेको छ । किन्नु परेन । अहिले विभिन्न देशका विद्यार्थीका लागि ज्ञान लिने ठाउँ समेत बनेको छ, दिव्य सेवा निकेतन । नेपाल भर रहेका १ सय ६३ वटा आश्रम मध्येदिव्य सेवा निकेतन उत्कृष्टआश्रमको अवार्ड जित्न सफल भएको केन्द्रीय अध्यक्ष निरौलाले बताए ।

संस्कारमा समस्या
कतिपय वृद्धवृद्धाबाँच्नका लागि मात्रै वृद्धाश्रमपुग्ने गरेका छन् । मानिसको जन्म र मृत्यु सामान्य चक्र हो । हालसम्म मकवानपुरमा १ सय ५३जनाले वृद्धाश्रम मै मृत्युवरण गरे ।

मृत्यु भएका अधिकांशको दाहसंस्कार वृद्धाआश्रमले नै गर्ने गरेको छ ।निरौलाका अनुसार बिरामी हुँदादेखि नै खबर गरेपनि परिवारका सदस्य मृत्यु हुँदासम्म पनि आउँदैनन् । मृत्युपछि आएपनि कतिपयले शवसम्म छुदैनन् । उनले भने, ‘यहाँ संस्कारमै समस्या छ ।’ आश्रमलाई जिम्मा लगाएपछि आफ्नो जिम्मेवारी सकिएको ठान्ने गरेका छन्, धेरैले । पैतृक सम्पति हत्याउने तर अभिभावकप्रतिको दायित्व बोध नगर्ने परिपाटीले उमेर नढल्किँदै मान्छेहरु वृद्धाश्रम पुग्नु पर्ने अवस्था छ ।

यसरी केही अपवादलाई छोडेर भन्ने हो भने, आश्रममा आश्रय लिईरहेका ज्येष्ठ नागरिक आफंैले खाना बनाउने, लुगा धुने, सरसफाइ गर्नुपर्ने अवस्था छ । बेसहारा भई एक्लै परेका वृद्धवृद्धालाई आश्रममै एक्लीनु पर्दा कति दुख्दो हो ? अनि, ज्येष्ठ नागरिकको हेरचाह तथा स्याहारका लागि खोलिएको आश्रम नै आर्थिक रुपले बेसहारा बने पछि आश्रमकै स्याहार गर्नुपर्ने अवस्थालाई कसले ध्यान दिने ?