मकवानपुरको मनहरी गाउपालिका वडा नम्वर २ का प्रकाश स्याङ्तानले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा सहयोग गरेका छन् ।
सोमबार मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि ५ सम्मका करिब ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरिएको हो ।
स्याङ्तान हाल दक्षिण कोरियामा छन् । पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थीलाई लक्षित गरि स्विटर सहयोग गरेको बताए । जन्मदिनमा केक काटेर वा अन्य खर्च गर्नुभन्दा साना भाइबहिनीहरुलाई मदत गर्ने लक्ष्य बोकेर आफुले सक्दो सहयोग गरेको उनको भनाई छ ।
सानो छँदा विद्यालयका पढ्न आफुले गर्नुपरेको संघर्ष र अन्य साथीहरुको पनि बाध्यता र संघर्ष देखेका उनले विद्यार्थीहरुलाई थोरै भएपनि मदत गर्न पाउँदा खुशी लागेर सहयोग पठाएको उनले बताए । स्याङ्तान आफैले पनि सोही विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका थिए ।
सो क्रममा बोल्दै उक्त विद्यालयका अध्यक्ष राजकुमार थिङले जन्मदिनमा सामाजिक कार्यमा जोड दिने स्याङ्तानबाट अहिलेका युवाहरूले पाठ सिक्नु सकिने बताए । साथै उनले स्याङ्तानलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खाले सहयोगको अपेक्षा राखेको बताए ।
विद्यालयका प्रधानाध्यापक दुधलाल घलानको सभाध्यक्षतामा सम्पन्न भएको स्विटर हस्तान्रण कार्यक्रम विद्यालयका अध्यक्ष थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।