२०८१ बैशाख २०, बिहीबार    

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, चारस्थानमा हेल्प डेस्क स्थापना

२०८० आश्विन २१, आईतबार १७:२९ बजे

मकवानपुर प्रहरीले नजिकिँदै गरेको विभिन्न चाडपर्व लक्षित गरी सुरक्षा योजना लागू गरेको छ । आइतबारबाट प्रहरीले चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट, ठगी तथा सवारी दुर्घटनालगायतको गतिविधि रोक्न मकवानपुर जिल्लामा सुरक्षा योजना लागू गरेको हो ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार अघिल्ला वर्षको चाडपर्वमा भएको घटनालाई मध्यनजर गरेर यसवर्षको सुरक्षा योजना बनाइएको हो । ‘सवारी दुर्घटना, जुवातास नियन्त्रण, मादक पदार्थ सेवनबाट हुने झैझगडालाई हामी विशेष निगरानी गर्नेछौं ।’, उनले तीनवटै चाडपर्व कुनैपनि अपराधविनै सम्पन्न गर्ने गरी सुरक्षा योजना लागू गरिएको दावीगरे ।

यात्रुको सहजताका हेटौंडा बजारभर चार स्थानमा ‘नागरिक सहायत कक्ष’ स्थापना गरिएको उनले बताए । मधेश र वाग्मती प्रदेशको सीमाना जोडिएको हेटौंडा–१५, रातोमाटेमा विशेष चेकजाँच, हेटौंडा–११, थानाभर्‍याङमा सवारी चालकलाई रिफ्रेस र परिवर्तन भए नभएको हेर्ने गरी डेस्क स्थापना, हेटौंडा–१ स्थित त्रिभुवनराजपथमा सुमोका यात्रुलाई सहजता प्रदान गर्ने गरी र हेटौंडा–१०, बसपार्कमा यात्रुबाहक सवारीको परीक्षण गर्ने प्रहरीको योजना छ ।

‘शान्तिपुर्णरुपमा चाडपर्व मनाउनका लागि हामीले २४ सैं घण्टा परिचालन हुने गरी प्रहरी निरीक्षकको कमाण्डमा डेडिकेटेड समूह बनाएका छौं ।’, रिजालले यस सुरक्षा योजनाअन्तर्गत् आठसय १७ जना प्रहरी परिचालन हुने बताए । ‘सुरक्षा योजनाका लागि हाम्रो जिल्लामा रहेको संख्याभन्दा ६४ जना प्रहरी अपुग छ । हामीले माथिल्लो मातहतको कार्यालयसँग माग गरेका छौं । ३२ जना थप प्राप्त पनि भइसकेको छ ।’, उनले रात्रिकालिन सुरक्षाका लागि पाँच स्थान बेस बनाइएको बताए ।

‘सवारी लुटपाट रोक्नका लागि यात्रुबाहक बसमै हतियारसहित प्रहरी परिचालन गरिने’, प्रहरी सुरक्षा योजना अनुसार बजार अनुगमन, मठमन्दिर तथा धेरै आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ ।