२०८१ बैशाख ८, शनिबार    

पटक–पटक पच्छारिए पनि पछि नहटेका कमल

२०७९ भाद्र १३, सोमबार १७:२२ बजे

आगामी मंसिर ४ गते प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूभित्र टिकटको लागि दौडधूप सुरु भइसकेको छ। निर्वाचन केन्द्रित भएर दलका नेताहरू गाउँ पस्न थालिसकेका छन्। पछिल्लो समय नेताहरुको दैनिकी गाउँबाट टिकट लिन शहर जाने र शहरबाट भोट तान्न गाउँ पस्ने बनिसकेको छ।

साढे ६ दशकको संसदीय अभ्यासका क्रममा पुस्तान्तरणको कुरा चलिरहेको भए पनि पुनः पुरानै अनुहार दोहोरिने तयारीमा छन्। कैयौं पटक निर्वाचनमा होमिएर जीवनको एउटा उत्तरार्धमा पुग्न लागिसकेका नेताहरु पनि युवापुस्तालाई अघि बढाउनुको साटो आफैँ कुनै पनि हालतमा चुनाव जित्नुपर्ने दौडमा छन्। तीमध्येका एक हुन्,कमल थापा । मकवानपुर स्थायी घर भएका थापा पटक–पटक सिंहदरबारको वरिपरि घुमिरहे तर, पनि उनले चुनाव जितेको  अनुभव पनि धेरैपटक गर्न पाएका छैनन् । राजा हुन् या राजनीतिक दलको सरकार, उनले दुवै कालमा सिंहदरबारको स्वाद चाखेका छन्। तर, पनि जनताको मत पाएर जितको स्वाद भने एक पटकभन्दा बढी चाख्न पाएका छैनन् ।

हेटौंडामा ९ कक्षामा पढ्दा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष बनेर उनी विद्यार्थी कालबाटै राजनीतिमा होमिएका थिए। पूर्वराजा महेन्द्रका बफादार कर्णेल क्षेत्रबहादुरका सन्तान उनी २०३७ सालमै पञ्चायती संविधानको संशोधनका लागि गठन भएको मस्यौदा समितिको सदस्यसमेत बने। पछि २०४६ मा सञ्चार राज्यमन्त्री बनेका उनले पञ्चायतविरुद्धको आन्दोलत दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, गृहराज्यमन्त्री निरञ्जन थापासँग मिलेर आन्दोलनविरुद्ध चार खम्बा बनेर उभिएका थिए।

प्रजातन्त्र पुन:स्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा पराजित भएका थापाले २०५१ को मध्यावधि चुनावमा भने जित हात पारे । त्यसयता सधैँ हार्दै आएका उनी पटकपटक मन्त्री भने भए।  पाँच वर्षयता कुनै शक्तिशाली पदमा नदेखिएका उनी यसपटक फेरि मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्। तर, आफ्नै सहकर्मीबाट छुट्टिएका उनलाई त्यति सहज भने छैन।

२०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् उनी। तर, पटक–पटक विभिन्न मन्त्रालय सम्हालेका उनलाई जनताले अनुमोदन भने गरेका छैनन् । २०४८ को आम निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए। ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए। तर, मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे।

२०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए। त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए। मकवानपुर–३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग २ हजार मतान्तरले पराजित भए। त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (पछि क्षेत्र २ मा गाभिएको) बाट उम्मेदवार बनेका थापा तेस्रो भए । माओवादीबाट विजयी हुँदा दोस्रो नेकपा एमाले बनेको थियो। क्षेत्र नम्बर ३ मा माओवादीका प्रल्हाद लामिछाने १९ हजार मतसहित विजयी हुँदा एमालेका अनन्त पौडेलले करिब १४ हजार मत पाएका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन्। श्रीमती प्रमिला थापालाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे। समानुपातिकबाट सांसद भएर मन्त्री बनेका उनी ओली, दाहाल र देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने। त्यसपछि २०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै फेरि उम्मेदवारी दिए। थापाका प्रतिस्पर्धी थिए, उनै तीनपटक प्रतिस्पर्धा गरेका दाहाल। तर उक्त निर्वाचनमा पनि थापा पराजित भए । कांग्रेस–राप्रपाको गठबन्धनलाई माओवादी–एमाले गठबन्धका दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरे। दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए।

विचार मिल्ने–नमिल्ने सबै दलका सरकारमा सहभागी हुँदै गणतन्त्र स्थापनाको लामो समयसम्म राजतन्त्रको मुद्दा बोकेर अन्ततः उनले गणतान्त्रिक छलाङ मारेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निरन्तर नेतृत्वमा रही राजतन्त्र र हिन्दू धर्मको पक्षमा वकालत गर्ने थापाले लोकतान्त्रिक संविधानको विपक्षमा मतदान गरे। लोकतान्त्रिक संविधानको विपक्षमा मतदान गरे पनि संविधान निर्माणपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री बने ।

०७८ मंसिर दोस्रो साता भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले पुरानै राप्रपा नेपाल ब्युँताएका छन्। जहाँ उनले राजतन्त्रको मुद्दा त्यागेका छन्। अहिले थापा हिन्दू राष्ट्रको एजेण्डासहित निर्वाचन आयोगमा राप्रपा नेपाल पार्टी दर्ता गराएका छन् । पूर्वराजा ज्ञानेन्द्रले ठाडो हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाउँदै राप्रपा नेपाल ब्युँताएपछि उनले राजतन्त्रको मुद्दा त्यागेका हुन्। लामो समयसम्म राप्रपाबाट राजतन्त्रको नेतृत्व गरेका थापालाई आगामी निर्वाचनमा पनि जित हात पार्न सहज छैन।

भर्खरै ब्युतिएको नयाँ पार्टी र राजतन्त्रको एजेण्डा त्यागेका उनलाई प्रतिपक्षी दलहरूको मात्रै होइन, लामो समय आफूसँगै राजनीतिक गरेका सहकर्मीहरूकै चुनौती छ। मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारी गरेका उनलाई लामो समयसम्मको आफ्नै सहकर्मी दीपक सिंहको सामना गर्नुपर्ने चुनौती देखिएको हो।

थापासँगै राप्रपामा राजनीति गरेका सिंह हाल पनि राप्रपामा नै छन्। उनी थापासँग राप्रपा नेपालमा गएनन्। सिंह तिनै हुन्, जसले गएको स्थानीय तह निर्वाचनमा थापाले पार्टी छोडेको अवस्थामा एकातर्फ पाँच दलीय गठबन्धन र अर्कोतर्फ शक्तिशाली एमालेसँगको प्रतिस्पर्धामा पपुलर मत ल्याएका थिए। एमालेको लालकिल्ला रहेको हेटौंडामा उसलाई तेस्रो बनाउँदै एक्लै दोस्रो हुनु सिंहको लागि सामान्य कुरा होइन । त्यसैले पनि उनी आसन्न निर्वाचनमा क्षेत्र नम्बर १ बाटै प्रतिनीधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।

२०७४ मा सत्तारूढ कांग्रेससँग गठबन्धन गरी पराजित भएका उनी यसपटक भने एमालेसँग गठबन्धन गर्ने कसरतमा छन् । हारपछि उनले कांग्रेसले आफूलाई धोका दिएको अभिव्यक्ति दिएका थिए। थापाले कोसँग गठबन्धन गर्छन् भन्ने पक्का भइनसके पनि उनी गठबन्धन र प्रतिपक्षी दल एमाले दुवैसँग चुनावी तालमेलका लागि दौडधूप गरिरहेका छन्।

विभिन्न फोरममा उनले एमालेसँग तालमेल हुनसक्ने अभिव्यक्ति दिएका छन्। तर, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा थापा एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेको खण्डमा पनि उनलाई चुनाव जित्न निकै मुश्किल नै पर्ने देखिन्छ। गएको स्थानीय तहको निर्वाचनमा मकवानपुरको १० पालिकामध्ये ८ वटा पालिकाको नेतृत्वमा गठबन्धनले क्लिनस्विप गरेको छ । दशकौँदेखि मकवानपुरमा एमालेले गाढेको लालकिल्ला गठबन्धनले गएको स्थानीय तह निर्वाचनमा नै भत्काइसकेको छ । त्यसैले थापालाई आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न एमालेको साथ मात्रै पर्याप्त हुने देखिँदैन ।

गएको स्थानीय निर्वाचनमा एमालेलाई समर्थन गरेको थापाको पार्टीले मकवानपुरको कुनै पनि पदमा उम्मेदवारीसमेत दिएन । त्यसैलेको उनको पार्टीको पक्षमा कति मत छ भन्ने तथ्यांक पनि छैन। तर, थापाले राप्रपा र राजतन्त्रको मुद्दा त्यागेसँगै उनलाई वर्षौंदेखि साथ दिँदै आएको उनको अधिकांश कार्यकर्ताले उनको साथ पनि छोडेका छन्।