२०८१ बैशाख २४, सोमबार    

हेटौँडा सडक विस्तार : ४० घरधुरीलाई राजमार्गको जग्गा वितरण

२०८० श्रावण ८, सोमबार १४:०७ बजे

तत्कालीन सुकुम्वासी समस्या समाधान आयोगले २०५२ देखि पटक पटक गरी २०६७ सम्म हेटौँडा बजार क्षेत्रको सडक सीमा भित्रको जग्गा भूमिहीन सुकुम्बासीहरुलाई उपलब्ध गराएको पाइएको छ । तत्कालीन समयमा डिभिजन सडक कार्यालय आयोगको पदेन सदस्य समेत रहेको थियो ।

आयोगले तत्कालीन समयमा कर्रा पुल पारी हेटौँडा–८ र ९ को सडक किनारमा भूमिहीन सुकुम्वासी ४० घरधुरीलाई लालपुर्जा सहित जग्गा उपलब्ध गराएको थियो ।

हेटौँडा–८ को रेडक्रस भवनबाट उत्तर तर्फ कर्रा पुलसम्म र हेटौँडा–९ को सोही दुरीमा सुकुम्वासी भएको प्रमाणित गरी जग्गा वितरण गरेको थियो । हेटौँडा–८ तर्फ लक्ष्मण राई, भक्तबहादुर राई, प्रेम बहादुर राई, सुरवीर तामाङ, रामेश्वर श्रेष्ठ, विमान तामाङ, हेटौँडा–९ तर्फ नरहरि सुवेदी, तीर्थ दास मानन्धर, सिताराम अधिकारी, गुलाम हुसेन, अवसर मिया, कृष्ण बहादुर थापा, जितबहादुर परियार, नीलबहादुर ठकुरी, कृष्णप्रसाद खनाल, मोहन कुमार कार्की, ईश्वरी प्रसाद सुवेदी, अनन्त प्रसाद सुवेदी र उमानाथ अर्याल लगायतलाई आयोगले जग्गा उपलब्ध गराइएको थियो ।

तत्कालीन समयमा सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरको अध्यक्षमा एमाले नेता अनन्त पौडेल रहेका थिए । आयोगबाट २०५२ सालदेखिको उनीहरूले निर्णय बमोजिम जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका थिए ।

हेटौँडा–९ को कित्ता नम्बर ८७५४, ८७५३, ६५६९, ४९२४, ४९२६, ४८९७, ७२६४, ७२६०, ६५७६, २७०, २६२; २७४, ४९४४, ८७५५, ४९२२,  हेटौँडा–८ को कित्ता नम्बर ६५७५, ६५७१, २७५, ६५६८, १४९७, ६५७०, ८७५२ आयोगबाट घडेरी प्राप्त भई घर निर्माण गरी भोग चलन गर्दै आएका थिए ।