२०८१ बैशाख १२, बुधबार    

फेसबुकमा स्पाम आतंक, सुरक्षित रहन लिंक नखोल्नुहोला

२०७९ जेठ १९, बिहीबार १२:४१ बजे

सामाजिक सञ्जाल फेसबुकमा ‘तपाईं यो भिडियोमा हुनुन्छ हैन’ लेखिएको स्पाम लिङ्क फैलिएको पाइएको छ । प्रयोगकर्ताको गोप्य जानकारी संकलन गर्ने उद्देश्यले तयार पारिएको यस्तो स्पामबाट फिशिङ आक्रमण भइरहेकाले सतर्क रहन साइबर सुरक्षा विज्ञले आग्रह गरेका छन् ।

‘यस्तो लिङ्क खोल्दा प्रयोगकर्ताको च्याटलिस्टबाट अन्य व्यक्तिलाई स्वतः म्यासेज फर्वाड हुन्छ । त्यसरी एउटै स्पाम लिङ्क सामाजिक सञ्जालबाट हजारौं प्रयोगकर्तासम्म पुग्नेगर्छ,’ सुरक्षा अनुसन्धानकर्मी नरेश लाम्गादेले भने ।


उनका अनुसार स्पाम लिंक खोलेर डेटा एक्सेस दियो भने अश्लील सामग्री देखिन्छ । त्यसपछि म्यासेन्जरबाट प्रयोगकर्ताको च्याट लिस्टमा भएका ग्रुप वा साथीलाई सो म्यासेज स्वतः फर्वाड हुनेगर्छ ।

यस्तो म्यासेज देख्दा पाउने मान्छेले पठाउने मान्छेलाई गाली गरेका घटना पनि हुन्छन् । तर, पठाउने मान्छेलाई सो लिङ्कहरू स्वतः फर्वाड भएका हुन् बन्ने जानकारी हुँदैन ।

लाम्गादे भन्छन्, ‘अहिले भइरहेको घटना फिशिङ आक्रमण हो । ह्याकरहरूले फेसबुकजस्तै इन्टरफेस बनाएर प्रयोगकर्तालाई लगईन गर्न पठाई उनीहरूको लगईन डिटेल्स लगिरहेका हुन्छन् । उनीहरूले फैलाएको लिङ्कमा प्रयोगकर्ताले क्लिक गरेको खण्डमा फेसबुकको आईडी र पासवर्ड प्रयोग गरी पुनः लगईन गर्नुपर्ने हुन्छ ।

 

त्यो दुरुस्तै फेसबुकको जस्तो इन्टरफेस देखिने भएकाले प्रायः मानिसहरू झुक्किने गर्छन् । त्यसपछि प्रयोगकर्ताको लगईन डिटेल्स ह्याकरले सजिलै पाउँछन् । डिटेल पाइसकेपछि उनीहरूले आफ्नो तरिकाले प्रयोगकर्ताको च्याटलिस्टमा भएका मानिसमा लिङ्क फैलाउने काम गर्छन् ।’

त्यसरी लिइएको डेटालाई उनीहरूले आफ्नो तरिकाले विभिन्न कम्पनीहरूलाई बिक्री गर्ने गरेको उनी बताउँछन् ।

स्थानीय सामग्रीको प्रचार (जस्तै एनसेलमा यति जीबी डेटा फ्री, यति एयरलाइन्समा यो अफर, नेपाल टेलिकमकाे यस्ताे अफर) गरी स्प्याम लिङ्क फैलाइरहेको अवस्थामा भने ह्याकरले प्रयोगकर्ताको आईडीलाई ह्याक गरी विभिन्न व्यक्तिसँग पैसा सहयोग माग्ने, अश्लील सामग्री पठाएर उनीहरू प्रतिष्ठामा आँच आउने काम गरिरहेका हुन्छन् ।