२०८१ बैशाख १६, आईतबार    

वाग्मती प्रदेशमा अपराधिक घटना बढ्दो

२०८० श्रावण ३०, मंगलबार १४:५६ बजे

वाग्मती प्रदेशमा अपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७८/७९ मा ४ हजार ४०५ वटा अपराधिक मुद्दा दर्ता भएकोमा २०७९/८० मा बढेर ४ हजार ६७९ वटा पुगेको छ। २०७८/७९ मा प्रदेशभर कर्तव्य ज्यान सम्बन्धि ५८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ४३ वटा भएको छ ।

ज्यान मार्ने उद्योग सम्बन्धि २०७८/७९ मा ११३ वटा दर्ता हुँदा अघिल्लो आर्थिक वर्षमा ६८ वटा दर्ता भएका छन्। २०७८/७९ मा सवारी ज्यान सम्बन्धि ३२३ वटा मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्ष २३६ वटा भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

उनका अनुसार २०७८/७९ मा प्रदेशमा लागूऔषध सम्बन्धि ३४३ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ३६३ वटा मुद्दा दर्ता भएको छ। बागमती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणी सम्बन्धि मुद्दा २६५ वटा र करणी उद्योग सम्बन्धि ६८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणी सम्बन्धि २६४ वटा र करणी उद्योग सम्बन्धि ६३ वटा मुद्दा दर्ता भएको थियो। यता आत्महत्या सम्बन्धि मुद्दा भने बढेको छ। २०७८/७९ मा ९०२ वटा आत्महत्याको मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष बढेर ९४० वटा पुगेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चोरी, ठगी र अन्य शिर्षकको मुद्दा दर्ता पनि बढेको छ। ‘समग्रमा बागमती प्रदेशमा अपराधको मुद्दा बढ्दो क्रममा रहेको छ। २०७८/७९ को तुलनामा अघिलो आर्थिक वर्ष २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हाम्रो तथ्यांकले देखाएको छ’, बागमती प्रदेश प्रहरी प्रवक्ता रेग्मीले भने, ‘अपराधिक घटना हुन नदिन प्रहरीले आफ्नो सक्रियता बढाइरहेकै छ ।

अपराध बढ्न नदिन प्रहरीसँगै समुदायको पनि उत्तिकै भूमिका रहने गर्दछ।’ यस्तै बागमती प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण राणाले पछिल्लो समय लागूऔषध दुव्र्यसन ठूलो समस्याको रुपमा देखा परेको बताइन् । 

‘लागूऔषध उत्पादन, सेवन र विक्रीवितरणमै बागमती प्रदेश अघि रहेको छ’, उनले भनिन्, ‘यो हामी सबैका लागि चुनौतीको विषय हो।’ योसँगै फरार अपराधी पक्राउ, सबै किसिमको तस्करी नियन्त्रण, लागूऔषध खेति, बिक्री वितरण, ओसारपसार र प्रयोग विरुद्ध विशेष अभियान संचालन गर्ने योजना रहेको जानकारी दिइन्।