२०८१ बैशाख १५, शनिबार    

विवाहको अवसरमा १२ लाख खर्चेर बुद्धको मूर्ति स्थापना

२०८० माघ १८, बिहीबार ११:१७ बजे

फजुल खर्च गरेर विवाह गर्ने परम्परा बढिरहेको अवस्थामा हेटौंडामा एक जोडीले नमूना कार्य गरेका छन् ।

हेटौंडा–४, कमलडाँडाका डा. घोषणा विष्ट र सुजता कार्कीले आफ्नो विवाहको अवसरमा हेटौंडा–९ स्थित कुष्माण्ड सरोबर त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका छन् ।

पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भइरहेको त्रिवेणी धाममा उनीहरुले ५ फिट अग्लो, २ सय ६० केजी तामा र पित्तल मिसिएको मूर्ति प्राण प्रतिष्ठा गरेका हुन् ।

करिब १२ लाख रुपैयाँ खर्चमा निर्माण गरिएको मूर्तिको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ अनावरण गरेका हुन् ।

सामाजसेवी तथा बुद्धिजीवी देव श्रेष्ठले फजुल खर्च गरी विवाह गर्ने परम्परा बढिरहेको समयमा यस जोडीले उदाहरणीय काम गरेको बताए । ‘यस्ता कार्यले समाजको नेतृत्वकर्तालाई थप जिम्मेवार बन्न प्रेरणा दिन्छ ।’, उनले मूर्ति अनावरण समारोह भने ।

घोषणा अग्रज सञ्चारकर्मी प्रताप विष्टका कान्छा छोरा हुन् ।

विष्टले २०७४ सालमा आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटाएर मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११ सय रुपैयाँ तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा एकलाख रुपैयाँ पुस्तकालय स्थापनाका लागि प्रदान गरेका थिए ।