२०८१ बैशाख १७, सोमबार    

किन आए एक्कासी मनाङे हेटौंडा ?

२०७९ पौष २२, शुक्रबार १७:५५ बजे

गण्डकी प्रदेशसभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता राजिव गुरुङ उर्फ दिपक मनाङे एक्कासी हेटौंडा आएका छन् ।

देशको राजनीति गर्माएको अवस्थामा गण्डकी प्रदेशका खेलकुद विकास मन्त्री समेत रहेका मनाङे पुस २२ गतेदेखि दैनिकरुपमा मकवानपुर र बारा गरिरहेका छन् । मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएर चर्चामा रहेका उनी आफ्नो राजनीतिक भविष्यको कुनै चिन्ता नै नभए जसरी हेटौंडामा रमाइरहेका छन् ।

उनी हेटौंडामा जारी राष्ट्रिय भेट्रान्स प्रतियोगितामा मनाङ मस्र्याङ्दीबाट सहभागी हुन हेटौंडा आएका हुन । सुरक्षाकर्मीसहित उनी बाराको अम्लेखगञ्जस्थित क्विक २० होटलमा बसिरहेका छन् । उनको टोली शुक्रबार एवीसी पोखरासँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । उनको टोली टाइब्रेकरमा पराजित भएको हो ।

आफ्नो टोली पराजित भएसँगै अब पोखरा पुगेर उनले नयाँ सरकार गठनको विषयमा कस्तो कदम चाल्नेछन् भने सर्वत्र चासोको विषय बनेको छ । हेटौंडा उनको ससुराली समेत हो ।