२०८१ बैशाख ६, बिहीबार    

हेटौंडामा डेंगु नियन्त्रण गर्न अभियान

२०७९ भाद्र १७, शुक्रबार १२:०३ बजे

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फैलदै गरेको डेंगु नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरको जनस्वास्थ्य शाखाले नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

शुक्रबार शाखाले एकदिने अभिमुखिकरण गर्दै अभियानलाई औपचारिकरुपमा चलाउने घोषणा गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको अध्यक्षता र नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममार्फत ४ दिने लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख लामाले रोगको संक्रमणले बजार क्षेत्रका बासिन्दा त्रसित रहेको अवस्थामा नियन्त्रण र निराकरणको अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले संक्रमण नियन्त्रणका लागि उपमहानगरले स्प्रे गरे पनि संक्रमण दर नियन्त्रणमा नआएकाले अभिमुखिकरण कार्यक्रमसहित सफाइ अभियान सँगै लैजानु पर्नेमा जोड दिए ।  अभिमुखिकरण कार्यक्रममा उपप्रमुख बानियाँले फैलदै गरेको डेंगु नियन्त्रणका लागि ठोस योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । जिम्मेवार ढंगबाटै सबैको सहभागितामा संक्रमण नियन्त्रणको कार्यलाई अघि बढाउनु पर्ने बानियाँको भनाइ थियो ।

अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका सूचना अधिकृत लक्ष्मण घिमिरेले डेंगु रोग संक्रमणको अवस्था र परिचयबारे प्रस्तुतिकरण गर्नु भएको थियो । घिमिरेले डेंगु रोगको संक्रमण हरेक बर्ष रहे पनि अहिले बढी मात्रामा संक्रमित देखिएको जानकारी दिए । गत आर्थिक वर्ष २०७८/७९ मा १ सय ९५ जना डेंगुको संक्रमणमा रहे पनि चालु आर्थिक वर्षको एक महिनाको अवधिमा ५ सय ५८ जना संक्रमित देखिनुले अवस्था डरलाग्दो भएको घिमिरेको भनाइ छ । चालु आर्थिक वर्षको संक्रमण दर अनुसार हेटौँडा–४ मा २ सय २६ र हेटौँडा–५ मा ७६ जनामा डेंगु संक्रमण भएको छ ।

हेटौंडा–४ मा डेंगुका बिरामी उपचार पछि निको भए पनि दोहोरीएर संक्रमण भएको तथ्याङ्क फेला परेको छ । संक्रमण दर बढ्दै गएपछि उपमहानगरले हेटौंडाका सबै वडामा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मीसहित सरोकारवालाको अगुवाइमा डेंगु नियन्त्रण अभियान शुरु गरेको हो । अभियानअनुसार वडातहमा गएर सरोकारवालाको सहभागितामा लार्भा नष्ट गर्न सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्बन्धित वडाको जोखिमपूर्ण ठाउँका अनुगमन गरी सफा गरिने कार्यक्रम छ ।

अभियानअनुसार अनुगमन र निरीक्षण शुक्रबारबाटै थालिएको जनस्वास्थ्यशाखाले जनाएको छ । अभियानअनुसार शनिबार हेटौँडा–४ हुप्रचौरबाट नगर प्रमुख लामा र उपप्रमुख बानियाँको अगुवाईमा लार्भा नष्ट अभियान सञ्चालन हुने जनस्वास्थ्यशाखाले जनाएको छ । शाखाले सञ्चालन गरेको अभिमुखिकरणमा प्रशासन, उद्योगीव्यवसायी, प्रहरी, सञ्चारकर्मीसहित अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।