२०८२ बैशाख ११, बिहीबार    

शान्ति स्वावलम्वनको साधारणसभा, अध्यक्षमा उप्रेती चयन

२०८१ मंसिर १२, बुधबार १२:५५ बजे

मनहरी गाउँपालिका १ मा रहेको शान्ति स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था लिमिटेड १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले सहकारीमा सहकार्य गर्दै अघि बढ्न शेयर सदस्यहरुलाई अनुरोध गरे । सहकारीले शेयर सदस्यलाई परेको अप्ठ्यारोमा सहज बनाएको उल्लेख गर्दै वचत गर्ने बानीको विकाश गर्न समेत अनुरोध गरे । सहकारी भवनको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता रहेको थियो ।

गाउँपालिकाबासीको हकहितमा काम गर्दै आएको स्मरण गर्दै अध्यक्ष कालाखेतीले किसानले १५ दिनमा दूधको भुक्तानी पाउने वातावरण बनेको बताए । मनहरी १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले वडाको विकासमा सक्दो काम गर्दै आएको दावी गर्दै सहकारीको विकासमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष माधवप्रसाद ढकाल, पूर्व अध्यक्षद्वय माधवप्रसाद उप्रेती र वंशिगोपाल कंडेल, किरातेश्वर सहकारीका अध्यक्ष मनहरी उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा सहकारीका संस्थापक अध्यक्ष माधवप्रसाद ढकाल, ज्येष्ठ महिला सदस्य वेदमाया खनाल र उत्कृष्ट ऋणी पार्वती अर्याललाई सम्मान गरिएको थियो ।

सहकारीका व्यवस्थापक विनोद गुनीले आयव्यय र आगामी योजनाको विषयमा जानकारी गराएका थिए । सहकारीमा ३४५ शेयर सदस्य रहेका छन् ।

सहकारीमा उप्रेतीको नेतृत्व

शान्ति स्वावलम्वन सहकारीको अध्यक्षमा माधवप्रसाद उप्रेती चयन भएका छन् ।

सहकारीको १९ औं साधारणसभा तथा सातौं अधिवेशनले पूर्व अध्यक्ष उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा नितुमाया थिङ, सचिव गोपिराम मोक्तान, कोषाध्यक्ष सुन्तलीमाया रुम्बा तथा सदस्यमा प्रमिसा खनाल, विनु विष्ट अधिकारी, भरतप्रसाद बर्तौला, गोविन्दप्रसाद गुरागाइँ र रत्नबहादुर रुम्बा रहेका छन् ।
यस्तै लेखा समिति संयोजकमा वंशीगोपाल कंडेल तथा सदस्यमा विष्णुप्रसाद अधिकारी र कोपिला लटौला रहेका छन् ।