२०८१ बैशाख ५, बुधबार    

सत्तारुढलाई भागवण्डा मिलाउन हम्मेहम्मे , माओवादीका कारण सहमति हुन सकेन

२०७९ बैशाख ६, मंगलबार १६:३४ बजे

मकवानपुरमा सत्तासाझेदार दलहरूलाई स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन हम्मेहम्मे परेको छ।

नेकपा माओवादी केन्द्रले पालिका र वडामा आफ्नो दाबीमा अडान कायम राख्दा गठबन्धनलाई भागवण्डा मिलाउन हम्मेहम्मे परेको हो । मकवानपुरमा रहेको १० वटा पालिका र १०२ वडाको भागवण्डा गर्न सत्तारुढ गठबन्धनको बैठक दिनँहुजस्तो बसिरहेको छ। तर, गठबन्धनमा दोस्र्रो दलको रुपमा रहेको माओवादीले सबैभन्दा धेरै भाग खोज्दा प्रमुख घटक दल कांग्रेस असन्तुष्ट बनेको छ। कांग्रेसका एक पदाधिकारी अनुसार भागबण्डा मिलाउन बसेको बैठकमा माओवादी केन्द्रले वडा तहमै करिब ५० प्रतिशत भाग माग्दा सहमति जुट्न गाह्रो भइरहेको छ ।

जिल्लामा ठूलो दलको हैसियतले गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेस र एकीकृत समाजवादीले लचकता अपनाएर बैठकमा आ–आफ्नो दाबी प्रस्तुत गर्दासमेत माओवादी केन्द्रले वडा तहमा एक्लै करिब ५० प्रतिशत पाउनुपर्ने माग गरेको उनको भनाइ छ । माओवादी केन्द्रले गठबन्धनको केन्द्रीय स्तरबाट बनाइएको मापदण्ड अनुसार आफूले पाउने पालिकाबाहेक थप ३ वटा पालिकामा आफ्नो दाबी गरेको स्रोतले जनाएको छ । केन्द्रीय तहले निर्धारण गरेको आधार र मापदण्ड अनुसार मकवानपुरको २ वटा पालिकामा माओवादी केन्द्रले स्वतः नेतृत्व पाउनुपर्ने तथा विगतमा एमालेले जितेको पालिकामा पनि आफूले नै नेतृत्व पाउनुपर्ने दाबी माओवादीको छ।

बैठकमा हेटौंडा उपमहानगरपालिकाको नेतृत्वबारे केन्द्रले निर्णय लिने भन्दै त्यस बाहेकका ९ पालिकाको भागबण्डाका बारेमा छलफल भएको थियो। जसअनुसार २०७४ को निर्वाचनमा काँग्रेसले जितेको राक्सिराङ र बकैया गाउँपालिकामा कांग्रेसले नेतृत्व पाउने, कैलाश र इन्द्रसरोबर गाउँपालिकामा एमालेलेबाट जितेका जनप्रतिनिधि हाल एकीकृत समाजवादीमा रहेकाले त्यहाँ एकीकृत समाजवादीले नै नेतृत्व पाउने सहमति भएको थियो ।

अघिल्लो निर्वाचनमा थाहा नगरपालिका र बागमती गाउँपालिकामा माओवादी केन्द्रले जितेकाले त्यहाँ उसैले नेतृत्व पाउने सहमति पनि जुटेको थियो। अन्य ३ वटा पालिकाका सम्बन्धमा भने माओवादी केन्द्रले आफ्नो अडान छोडेन ।

एमालेले जितेका मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाको नेतृत्वमा माओवादी केन्द्रले नै दाबी गरेपछि सहमति जुट्न नसकेको हो । एमालेले जितेका पालिकामध्ये काँग्रेस र एकीकृत समाजवादीले पनि एक÷एक वटा पालिका माग गरेपछि माओवादी केन्द्रले त्यसलाई अस्वीकार गरेको हो । माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व लिने दलले कुनै एक पालिकामा नेतृत्व छोड्नपर्ने प्रस्ताव राखेपछि कांग्रेसलाई संकट परेको थियो । हेटौंडाको मेयरमा काँग्रेसको दाबी छ।

माओवादी केन्द्रको प्रस्ताव मान्दा काँग्रेसले मनहरी, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामध्ये एउटा पालिका छोड्नुपर्ने भयो । उता, एकीकृत समाजवादीको भागमा परेको पालिकामा पनि माओवादी केन्द्रले दाबी गरेपछि भने सहमति भाँडिएको बताइएको छ।