२०८१ बैशाख २०, बिहीबार    

वाग्मतीको मुख्यमन्त्रीमा तीन दलको दावी, कस्ले मार्ला बाजी ?

२०७९ पौष १९, मंगलबार २२:२६ बजे

वाग्मती प्रदेशमा नयाँ सरकारका लागि दलहरुले आ–आफ्नो दाबी गर्न थालेपछि भागबन्डामा समस्या देखिएको छ ।विशेषगरी वाग्मतीमा राप्रपाले सरकारको नेतृत्व गर्ने विषयमा आफ्नो अडान कायम राख्दै लबिङ बढाएपछि नेतृत्वको विषयमा भागबन्डा अझै टुंगिएको छैन ।

हालको गठबन्धन अनुसार प्रदेशमा सरकार गठनमा राप्रपा निर्णायक शक्ति हो । जसको कारणले उसले केन्द्र होस् वा प्रदेशस्तरीय बैठकमा प्रदेशमा आफ्नो नेतृत्व दाबी गरिरहेको छ ।

‘प्रदेश सरकारको नेतृत्व हामीले गर्नुपर्छ भन्ने विषयमा केन्द्र र प्रदेश दुवैमा आफ्नो दाबी प्रस्तुत गरेका छौं । हामी आफ्नो अडानबाट पछाडि हट्ने सम्भावना छैन’, राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने । उनले केन्द्रीय समीकरण अनुसार नै आफूहरु अगाडि बढ्न खोजेको बताए । ‘हालसम्म केन्द्रीय समीकरण अनुसार नै अगाडि बढ्ने भन्ने हो । तर हामीले नेतृत्व नपाएको खण्डमा दोस्रो विकल्पमा पनि जान सक्छौं,’ उनले भने ।

केन्द्रीय राजनीतिको अंक–गणितमा भएको फेरबदलले वाग्मतीमा सरकार गठनका लागि नयाँ विकल्प देखा परेका छन् । प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । हालको अवस्था यस प्रदेशको सत्ताको साँचो राप्रपासँग रहेको छ । राप्रपा जता जान्छ त्यतै सरकार बन्ने अवस्था छ । जसको कारण पनि उसको बार्गेनिङ पावर बढिरहेको छ । प्रदेश संरचना खारेजीको माग राखेका कारण राप्रपालाई सरकार नेतृत्व दिने कि नदिने विषयमा एमाले र माओवादी केन्द्रले प्रष्टरुपमा आफ्नो धारणा राख्न सकेको छैन ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् । अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ  । कांग्रेस सम्मिलित सरकार निर्माण गर्न राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समिकरणविपरीत वाग्मतीमा सरकार बन्न सक्छ ।

प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्रले सबैभन्दा बढी दौडधुप गरिरहेको छ । पार्टीभित्रको आन्तरिक विरोधकाबीच दुईदिन लगाएर माओवादी संसदीय दलको नेता चुनिएसँगै शालिकराम जम्मकट्टेलले सरकार निर्माणको विषयमा नेकपा एमाले र राप्रपाका नेता तथा सांसदसँग भेट गरिसकेका छन् । उनले नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामासँग पनि अनौपचारिक छलफल अगाडि बढाएका छन् । ‘सरकार गठन गर्न अनौपचारिक छलफल गरेका छौं । नेतृत्वको विषयमा केन्द्रबाटै टुंगो लगाउनुपर्ने देखिन्छ । हामीलाई टुंगो लगाउने अधिकारी पार्टीले दिएको छैन,’ जम्मकट्टेलले भने । उनले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल भने जारी राख्ने बताए ।

सदनको दोस्रो ठूलो दल नेकपा एमालेले भने प्रदेश प्रमुखले सरकार गठनका लागि आहृवान गरेपछि मात्र बाँकी प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने निचोडमा पुग्ने जनाएको छ । एमाले सांसद एकालाल श्रेष्ठका अनुसार सभामुख छनोट प्रक्रियासम्ममा सबै अन्योल सकिनेछ ।

‘प्रदेश प्रमुखबाट सरकार गठनका लागि आहृवान भएको छैन । केन्द्रीय समीकरण अनुसार हाम्रो नेतृत्वमा सरकार गठन गर्ने सम्भावना आएको खण्डमा संसदीय दलको नेता चयन भइसकेको छ,’ श्रेष्ठले भने । उनले मन्त्रिपरिषद् गठनको विषय टुंगिन अझै केही समय लाग्ने बताए । एमाले संसदीय दलको नेतामा जगनाथ थपलिया चयन भइसकेका छन् ।