२०८१ बैशाख १५, शनिबार    

डेढ करोडको कपडा बरामद

२०८० असार ३, आईतबार १४:२० बजे

मकवानपुर प्रहरीले हेटौंडाबाट करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा १५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडा सहित ट्रक र दुईजना मानिस नियन्त्रणमा लिएको हो ।

शनिवार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीले विशेष सुचनाको आधारमा उक्त ट्रकलाई रोकि जाँच गर्दा चारैतिरबाट प्याजको १६८ वटा बोराहरुले छोपी बिच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद गरेको जानकारी दिए ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार ट्रकमा रहेको पाईन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ मुल्य रहेको छ । यस्तै १६८ वटा बोरामा रहेको ८४ कुन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।
नियन्त्रणमा लिएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँ बराबर रहेको र १६८ बोरा प्याजको भने प्रतिकिलो ५० दरले प्याजको भन्सार काटिएको प्रवक्ता कार्कीले बताए ।

प्रहरीले उक्त अवैध कपडा सहित ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ बर्षका रन्जौद सिंह र सह–चालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ बर्षका सुधिर कुमार सहनीलाई नियन्त्रणमा लिएको छ ।
प्रवक्ता कार्कीले थप अनुसन्धान पछि उक्त ट्रक र कपडा राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने जानकारी दिए ।