२०८१ बैशाख १४, शुक्रबार    

स्थानीय तहमा महिलाको उपस्थिती कमजोर

२०७९ जेठ १४, शनिबार १६:०८ बजे

स्थानीय तह निर्वाचन २०७९ मा वाग्मती प्रदेशको उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेक दश जिल्लाका स्थानीय तह प्रमुख तथा उपप्रमुखमा महिलाको प्रतिनिधित्व असाध्यै कमजोर देखिएको छ ।

दश जिल्लाको ९८ वटा स्थानीय तहमध्ये ६ वटामा प्रमुख र ५२ वटामा महिला उपप्रमुख निर्वाचित भएका छन् । अघिल्लो स्थानीय तहको तुलनामा यसपटक पालिका प्रमुखमा २ जना महिला प्रमुख बढेपनि उपप्रमुखमा भने घटेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ८९ जना महिला उपप्रमुखमा निर्वाचित भएका थिए । यसपटक यो संख्या घटेर ५२ मा झरेको हो । विशेष गरी सत्तारुढ दलवीच गठबन्धन कायम भएपनि यस्तो अवस्था सिर्जना भएको हो । गठबन्धनले फरक फरक दलबाट प्रमुख र उपप्रमुखमा पुरुष नै उम्मेदवार बनाएपछि यस्तो अवस्था सिर्जना भएको हो । चितवनमा दुईजना, सिन्धुलीमा दुईजना र मकवानपुर र काभ्रेमा एक/एकजना महिला पालिका प्रमुख निर्वाचित भएका छन् ।

चितवनको भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र माडी नगरपालिकामा नेकपा एमालेबाट ताराकुमारी काजी महतो निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार हेटौंडा उपमहानगरपालिका नेकपा (एकीकृत समाजवादी) बाट मेयरमा मीना लामा निर्वाचिन भएकी छन् । सिनधुलीको फिकल गाउँपालिका प्रमुखमा एमालेकी पार्वती सुनुवार र सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी उम्मेदवार दीपा बोहोरा दाहाल चयन भएकी छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका माओवादी केन्द्रकी रेणुका चौलागाईं निर्वाचित भएकी छन् ।उनी संविधान सभा सदस्य समेत हुन् ।

संविधानले स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिदा कुनै एक पदमा महिला अनिवार्य हुुनुपर्ने व्यवस्था गरेको छ । २०७८ चैत्र १२ गते निर्वाचन आयोगले निर्देशन दिदै स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पद मध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न भनेको थियो । तर, चैत्र २९ गते नै आफ्नो निर्देशन सच्याउदै आयोगले ‘मनोनयनमा प्राथमिकता दिनुपर्ने’ हुनुपर्नेमा अन्यथा भएको भन्दै सच्याएसँगै दलहरुले गठबनधन गर्दा स्थानीय तहमा महिलाको उपस्थिति कमजोर भएको हो । आयोगको निर्णयको गलत व्याख्या गर्दै एक–एक पदमा मात्रै उम्मेदवारी दिएका गठबन्धन दलले पुरुषलाई प्राथमिकता दिएर उम्मेदवार बनाएका थिए ।

सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह रहेकामा ११ जना उपप्रमुख महिला चयन भएका छन् । नुवाकोट र रामेछापमा ८/८ जना, दोलखामा ७ जना, रसुवामा ४ जना, मकवानपुर, चितवन, धादिङ र काभ्रेमा ३/३ तथा सिन्धुलीमा २ जना महिला उपप्रमुखमा निर्वाचित भएका छन् ।