२०८१ माघ २८, सोमबार    

वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६

२०८१ श्रावण ८, मंगलबार १०:०९ बजे

नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । कांग्रेसले ७  र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको हो ।

सहमतिअनुसार एमालेले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा प्राप्त गरेको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।

कांग्रेसले माओवादीले प्राप्त गरेको ३ वटा, समाजवादीले लिएको २ वटा र हाम्रो नेपाली पार्टीको नेतृत्वमा रहेको एउटा मन्त्रालयको जिम्मेवारी लिने भएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएको हो ।

एमालेले आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने भएको हो ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दुई दलबीच सहमति भइसकेको बताए । ‘हामीबीच कसले कुन मन्त्रालय लिने विषयमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता काठमाडौंबाट आउँदै भएका कारण हामी कुरिरहेका छौं,’ उनले भने । लामाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्नुअगाडि सबै विषय टुंगिने बताए ।

एमाले नेता जगन्नाथ थपलियाले मन्त्रालय बाडफाँड र पार्टीभित्र मन्त्री बनाउने विषयमा आन्तरिक छलफलका लागि सोमबार काठमाडौं गएका थिए । कांग्रेस सांसद कुन्दनराज काफ्लेले भने सहमतिको विषयमा सांसदहरू अनभिज्ञ रहेको बताए । ‘दलका नेताहरूले सहमति भयो भन्नु भएको छ । उहाँहरूले सार्वजनिक गर्नु भएको छैन,’ उनी भन्छन् ।

कांग्रेस–एमालेबीच खेलकुद, कृषि र श्रम मन्त्रालयको भागबन्डाको विषयमा विवाद रहँदै आएको थियो । कांग्रेसले सांसद संख्याको आधारमा मन्त्रालयको विभाजन गर्नुपर्ने बताउँदै आएको थियो । एमालेले केन्द्रबाटै सहमतिमा बराबर मन्त्रालयको भागबन्डा भएकाले सोहीअनुसार अगाडि बढ्न जरुरी रहेको औंल्याउँदै आएको थियो । स्रोतका अनुसार अझै पनि कृषि र खेलकुद मन्त्रालयको नेतृत्व परिवर्तन हुनसक्छ ।

नेकपा एमालेभित्र मन्त्री बन्ने र संख्याको विषयमा विवाद हुँदा नयाँ मुख्यमन्त्रीको दाबीमा ढिलाइ हुँदै आएको छ । बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस नेता लामाले सोमबार बिहान १० बजे प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरे पनि एमालेभित्र विवाद हुँदा रोकिएको हो । आज मंगलबार बिहान १०:३० बजे लामाले मुख्यमन्त्रीमा दाबी पे; गर्ने कांग्रेस सांसद छिरिङदोर्जे लामाले बताए ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेस गर्न आह्वान गरेका थिए । शर्माले आज मंगलबार साँझ ५ बजेसम्म दाबीका लागि समय तोकेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकर अनुसार वाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो ।

वाग्मतीमा कांग्रेस र एमाले मिल्दा सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेस ३७ र एमाले २७ गरी ६४ सांसद रहेका छन् । जुन सरकार गठनका लागि पर्याप्त हो ।