मकवानपुरको मनहरीमा सडकछेउमा लडिराखेको अवस्थामा फेला परेका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका– ८ मधुवन घर भई हाल चितवन खैरेनी नगरपालिका– ९ सिमलटाँडीमा लेबर काम गर्ने ३२ वर्षीय पुजन राम रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार गएराति मनहरी गाउँपालिका– ६ सुनाचुरीमा रहेको पेट्रोलपम्पअगाडि लडेको अवस्थामा उनलाई भेटिएको थियो । उनको भाइ नाता पर्ने २० वर्षीय राजेश रामले फेला पारी प्रहरी चौकी सुनाचुरीमा खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरीले घटनाबारे बुझ्दा पुजन खयरघारीबाट लोथर बजारतर्फ पैदल फर्कने क्रममा लडेर घाइते भएका थिए । उनको दाहिने आँखीभौँमाथि भित्री चोट लागेको प्रहरीले जनाएको छ ।
उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएकोमा उपचारको क्रममा गएराति ११ बजेर ५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव पुरानो मेडिकल कलेज भरतपुरमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।