२०८१ बैशाख १३, बिहीबार    

प्रदेश प्रहरीद्वारा १२ प्राथमिकता र सय लक्ष्य निर्धारण

२०७९ भाद्र १, बुधबार १३:४९ बजे

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७९/०८० को ‘सुरक्षा कार्ययोजना’ लागू गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडमा उपत्यकाबाहेक वाग्मतीका दश जिल्लाका प्रहरी प्रमुखको उपस्थितिमा १२ वटा प्राथमिकता र एक सयवटा क्रियाकलाप गर्ने गरी कार्ययोजना लागू गरेको हो ।

प्रदेशको शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धानलगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थित र परिणाममुखी बनाउन कार्ययोजना तयार गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार प्रदेशले निर्धारण गरेको प्राथमिकता र तोकिएको क्रियाकलापअन्तर्गत रहेर प्रहरीले वर्षभर कार्य गर्नेछन् ।

‘विगतमा कार्य सम्पादनको क्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै प्रदेश प्रहरीको भूमिका र जिम्मेवारीलाई जवाफदेही, पारदर्शी र व्यवसायिक बनाउन हामी कार्ययोजनासहित अगाडि बढेका हौं ।’ उनले प्रहरीबाट हुने सेवा प्रवाहलाई प्रणालीबद्ध एवम् निर्देशित तवरले सञ्चालन गरिने बताइन् । सम्पूर्ण प्रहरी कर्मचारीले कार्ययोजना अध्ययन गरी मासिक, त्रैमासिक र अर्धवार्षिक रुपमा चेक लिस्ट बनाएर कार्य गर्न उनले निर्देशन दिएकी छन् ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले पहिचान गरिएका प्राथमिकताका क्षेत्रहरू र त्यसले तोकेका गतिविधिहरू तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने औंल्याए । उनका अनुसार यस आवमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवम् दुर्घटना न्यूनीकरण प्राथमिकतामा राखिएको छ । ‘मानवस्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र आर्थिक अनुशासन र पारदर्शिता, नागरिक केन्द्रित सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्बर्द्धन, विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरिवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम संचालन गरिनेछ,’ उनले भने ।

प्रहरीले सञ्चालन गर्ने एक सयवटा क्रियाकलापमा डिजिटल चेकप्वइन्ट निर्माण, सीसीटीभी जडान, हातहतियार बरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षालगायत क्रियाकलापहरू सञ्चालन गरिनेछ । दुर्घटना न्यूनीकरणका तथा सवारी व्यवस्थापनका लागि लागि रिफ्रेस सेन्टर निर्माण, सवारी साधनमा लेखिएको लेख-रचना मेटाउने र तोकिएको क्षेत्रमा मात्र सवारी पार्किङ गर्ने व्यवस्था मिलाउनेलगायत कार्यमा पनि प्रहरी सक्रिय हुनेछ ।