२०८१ माघ २८, सोमबार    

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन द्रुतमार्गको निरीक्षण

२०८१ माघ ४, शुक्रबार १३:०५ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत राष्ट्रपति पौडेलले जानकारी लिएका थिए ।

निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे पौडेलले आवश्यक जानकारी लिएका थिए ।

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने ७०.९७७ किलोमिटरको फास्ट ट्र्याक निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ । अहिले खोकना खण्डको ६.५ किलोमिटर बाहेक ६४.४७७ किमिमा मात्र काम भइरहेको छ ।