बालबालिकाको संरक्षण, सहभागिता र विकासको क्षेत्रमा सरकारी र गैरसरकारी क्षेत्रबाट धमाधम काम भइरहेका छन् । प्रहरीले अधिकांश बलात्कारीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ भने अदालतले हदैसम्म कारबाही गरेको पनि देखिन्छ, तर बालिका बलात्कृत हुने क्रम रोकिएको छैन ।
मकवानपुरमा गत आवमा २१ बालिकासहित ५४ जना बलात्कृत भएका छन् । ५ वर्षदेखि १६ वर्ष उमेरसम्मका बालिकाहरू छिमेकी र आफन्तबाटै बलात्कृत भएका हुन् । यसरी बलात्कृत हुनेमा सहर मात्र होइन, ग्रामीण क्षेत्रका बालिकाहरू पनि उत्तिकै छन् । सहरमा कुसंगत, अश्लील फिल्म र होटलहरूमा खुला ढंगले यौन व्यवसाय सञ्चालन गरेकाले बालिका बलात्कृत हुने क्रम बढेको बताइन्छ ।
बजारमा कुसंस्कार बोकेका व्यक्तिहरूको संगत, रातभर मोबाइलमा अश्लील तस्बिरहरू हेर्ने र लुकाइछिपाइ यौन व्यवसाय सञ्चालन गर्ने होटलका कामदारहरूले यौन तृष्णा मेट्नका लागि बालिकालाई बलात्कार गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सीताराम रिजालले बताए । ‘कुसंगतका कारण उनीहरूमा चढेको यौन उन्मादले प्रतिवाद गर्न नसक्ने बालिकालाई सिकार बनाउने गरेका छन्,’ उनले भने ।
बालविवाह गर्ने पुरुषलाई बलात्कार मुद्दा चलाउने गरेकाले पनि बालिका बलात्कारका घटना बढेको जस्तो देखिएको एक प्रहरी अधिकृतले बताए । प्रहरीको अनुसन्धानका क्रममा कुसंगत, मोबाइलमा अश्लील तस्बिरहरू हेर्ने, मादक पदार्थ सेवन गर्ने र कमजोर बालिका एवं महिलालाई बलात्कार गर्ने गरेका छन् ।
बालिकालाई पैसा दिन्छु भनेर लोभ्याएर बलात्कार गर्ने पनि उत्तिकै छन् । बालिकाहरूलाई विभिन्न किसिमका प्रलोभनमा पारेर छिमेकी र आफन्तले बलात्कार गर्ने गरेको बालबालिका र महिला क्षेत्रमा काम गर्दै आएकी माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले बताइन् । ‘आफन्त र छिमेकीहरूबाट नै विशेष गरी बालिकाहरू बलात्कृत हुने गरेका छन्,’ उनले भनिन् ।
हेटौंडा उपमहानगरपालिका–५ की १५ वर्षीया बालिकालाई गत फागुनमा ललाइफकाइ २३ वर्षीय युवकले बलात्कार गरे । प्रहरीले युवकलाई पक्राउ गरिसकेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका–११ सिमलटारका २१ वर्षीय बुद्धलाल मुक्तानले गत माघमा सुस्त मनस्थितिकी युवतीलाई ललाइफकाइ आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बलात्कारपश्चात् भोलिपल्ट बिहान मुक्तानले पीडितलाई घर पठाए । पीडित युवतीले आफू बलात्कृत भएको अभिभावकलाई बताइन् । अभिभावकको उजुरीका आधारमा प्रहरीले मुक्तानलाई पक्राउ गरेको हो । मुक्तानले प्रहरीसमक्ष साबिती बयान दिएका छन् । बलात्कार गरेको आरोपमा पक्राउ परेका मुक्तान छिमेकी हुन् ।
गाउँमा अभिभावकहरूको हेरविचारमा कमी र चेतनाको अभाव तथा गरिबीका कारणले अन्जान बालिका बलात्कारको सिकार हुन पुगेका छन् । अघिल्लो आवमा १६ बालिका बलात्कृत भएका थिए । बालिका बलात्कारमा संलग्न रहेकामध्ये प्रहरीले अधिकांशलाई पक्राउ गर्न सफल भएको छ । अदालतले पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामा राखेको छ । कैयौंलाई हदैसम्मको दण्ड सजाय गरेको छ ।
मकवानपुरमा मात्र होइन, वाग्मती प्रदेशका उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बलात्कारका घटना बर्सेनि बढेका छन् । बलात्कृत हुनेमा बालिकाको संख्या बढ्दै गएको छ । बलात्कारका घटना गत आवमा चितवनमा ५४ वटा भएका छन् । तीमध्ये १८ जना बालिका बलात्कृत भएका छन् । चितवनमा गत आवमा १५ जना बालिका बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकले देखाएको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार वाग्मती प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी बलात्कारका घटना भएको जिल्ला मकवानपुर र चितवन हो भने सबैभन्दा कम भएको जिल्ला रसुवा हो । अघिल्लो आवमा रसुवामा बलात्कारको एउटै घटना भएको थिएन । गत आवमा २ वटा बलात्कारका घटना दर्ता भएका छन् ।
वाग्मती प्रदेशका १० जिल्लामा गत आवमा ७१ जना बालिकासहित २ सय ८७ वटा बलात्कारका घटना भएका छन् । ५१ बलात्कारका प्रयास भएका छन् । अघिल्लो आवमा ६१ जना बालिकासहित २ सय ६३ वटा बलात्कारका घटना भएको प्रहरी प्रदेश कार्यालय हेटौंडाले जनाएको छ । ‘बालिकालाई बलात्कार गर्नेहरूलाई समाजले दुत्कार्नु पर्छ र राज्यले कडाभन्दा कडा कारबाही गर्नुपर्छ,’ बलात्कृत बालिकाहरूको हेरविचार र स्याहारसुसार गर्दै आएकी माइती नेपाल हेटौंडा शाखाकी प्रमुख लामाले भनिन्, ‘बलात्कृत बालिकालाई गाउँ–परिवारमा पुनर्स्थापना गराउन सबै पक्षले सकारात्मक सहयोग पुर्याउनु पर्छ ।’
बलात्कृत बालिकालाई अपहेलना गर्ने चलन गाउँमा अझै पनि व्याप्त छ । चालु आवको २१ वटा घटनामध्ये अधिकांशको जिल्ला अदालतबाट मुद्दा फैसला भइसकेको छ । घटनाको प्रकृति र प्रमाण हेरेर अदालतले २ वर्षदेखि सर्वस्वसहित जन्मकैदसम्मको फैसला गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा बलात्कारका दोषीलाई कठोर सजायको व्यवस्था गरिएको छ । तर, प्रहरीमा दर्ता भएको अपराध तथ्यांक हेर्दा बलात्कारका घटनासँग सम्बन्धित तथ्यांक डरलाग्दो देखिन्छ ।
कानुनमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्मकैदको सजाय हुने व्यवस्था छ । १० वर्षदेखि १४ वर्षसम्मकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मका किशोरीलाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद, १६ देखि १८ वर्षकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद र १८ वर्षमाथिकालाई बलात्कार गरे ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसबाहेक वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पनि पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । कानुनमा करणी गर्नेविरुद्ध कठोर सजाय भए पनि अपराधमा भने कमी आएको छैन ।