२०८१ माघ २८, सोमबार    

मकवानपुरबाट अफिम, चरेश र गाँजा बरामद, २ भारतीयसहित ३ जना पक्राउ

२०८१ पौष २८, आईतबार १४:०४ बजे

मकवानपुरको प्रहरीले दुई ठाउँबाट अफिम,चरेश र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन राजपथअन्तर्गतको थाहा नगरपालिका-११टिस्टुङ नौखण्डेबाट २१ किलो ४ सय ६० ग्राम चरेश र ३ किलो ४ सय ७० ग्राम अफिमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । 

थाहा नगरपालिकाको पालुङबाट नौबिसेतर्फ गइरहेको भारतीय नम्बरप्लेटको डीएल ८ सीएक्स १२२४ नम्बरको कारलाई प्रहरीले रोकेर चेक गर्ने क्रममा कारमा लुकाइएको चरेश र अफिम फेला पारेको थियो । लागूऔषधसहित प्रहरीले हरियाणा, भारतका २५ वर्षीय कुनाल गोथ्वाला र हरियाणाकै न्यु सुवास नगरका २० वर्षीय मनीष कुमारलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका गोथ्वाला कारचालक हुन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चौकीका प्रहरीले १०१ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । चितवनवाट वीरगन्जतर्फ गइरहेको भारतीय नम्बरप्लेटको डीएल १३ सी १५६१ नम्बरको कारलाई रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेक गर्ने क्रममा कारमा गाँजा फेला परेको प्रहरी उपरीक्षक विश्वराज खडकाले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रहरीले गाँजासहित वीरगन्ज महानगरपालिका-२६ का २० वर्षीय राजन राउत कुर्मीलाई पक्राउ गरेको छ । राउत कारचालक हुन् ।