२०८१ जेठ ८, मंगलबार    

लागूऔषधसहित युट्युबर तथा संगीतकार पक्राउ

२०७८ माघ २१, शुक्रबार १६:२२ बजे

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा लागूऔषधसहित युट्युबर तथा संगीतकार पक्राउ परेका छन् । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका काठमाडौं महानगरपालिका २६ सामाखुसीका २६ वर्षीय चेतन कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले चलाएको चेतनव्लग आवरणको ०१–००३क ९१८२ नं को मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो । कार्कीले लगाएको ट्याकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

जाँचका क्रममा गाडीभित्र राखेको गीतारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ । युट्युबर कार्कीलाई लागूऔषध मुद्दामा शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको डिएसपी लामाले बताए ।