२०८१ बैशाख १७, सोमबार    

भीमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सूरक्षा योजना लागू

२०८० माघ १३, शनिबार १६:३० बजे

मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कोष लागू गरेको छ । गाउँपालिकाले श्रमिकहरुलाई कोषमा आवद्ध गराई कार्यान्वयनमा ल्याएको हो ।

सामाजिक सुरक्षा कोषसँग अनौपचारिक क्षेत्रका श्रमिकहलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सम्झौता गर्ने भीमफेदी गाउँपालिका दोस्रो हो । तर कार्यान्वयनमा ल्याउने विषयमा भने पहिलो बनेको छ । यो योजना सम्झौता गर्ने स्याङजाको फेदीखोला गाउँपालिका पहिलो थियो । तर त्यहाँ अहिलेसम्म पनि कार्यान्वयन भने भइसकेको छैन ।

गाउँपालिकाले ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

उनका अनुसार अब गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैया (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् १ हजार १९० रूपैयाँ र गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात् १ हजार १४ रूपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

श्रमिकको हक संरक्षणका लागि गाउँपालिकाले दायित्व लिएको अध्यक्ष लामाले बताए । गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सामाजिक सुरक्षा योजनामा आवद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो रहेको उपाध्यक्ष सञ्जीव श्रेष्ठले बताए ।

सामाजिक सुरक्षा कोष अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, असक्तता, आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था हुने कोषले जनाएको छ ।