२०८१ चैत्र ७, बिहीबार    

सहिद घिमिरेका बुवा भन्छन्, ‘आज सहिद दिवस भन्ने नै थाहा छैन’

२०८१ माघ १६, बुधबार १८:०४ बजे

जनआन्दोलनका सहिद बासुदेव घिमिरेका बुवा कृष्णप्रसाद घिमिरेले आफूलाई बुधबार सहिद दिवस भन्ने नै थाहा नभएको बताएका छन् । रेडियो मकवानपुरको बार्षिकोत्सव अन्तर्गत आयोजित सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बुधबार भएको सहिद परिवार सम्मान कार्यक्रममा उनले सहिद दिवस भन्ने नै थाहै नभएको बताएका हुन् ।

आज सहिद दिवस, रेडियो मकवानपुरको बार्षिकोत्सवको कार्यक्रम अन्तर्गत हामी सहिद परिवारको सम्मान एवम् भेटघाटका लागि आएका हौं भन्ने भनाई सुन्ने बित्तिकै उनले ‘आज सहिद दिवस हो र ?’ भन्दै प्रश्न गरे । अघिल्ला वर्षहरुको सहिद दिवसमा बिहानै सरकारी गाडी आफूलाई लिन घरसम्म आइपुग्ने र अघिल्लो दिन खबर आउने गरेकोमा यस वर्ष केही नै थाहा नभएको उनले बताए । ‘आज सहिद दिवस भन्ने नै थाहा थिएन । पोहोरका वर्षहरुमा गाडी लिएर लिन आउँथे, यसपाला केही थाहै भएन’, घिमिरेले भने, ‘अब विस्तारै आँखा देख्न छोडियो । सोध्दा पनि कसैले भनदैनन् । तपाइँहरुले सम्झेर आउनुभएछ खुसी लाग्यो ।’

सहिद दिवसको सन्दर्भमा यस वर्ष मकवानपुरगढी गाउँपालिकाले पनि कुनै औपचारिक कार्यक्रम गरेन । सहिद बासुदेवका दाजु शम्भुप्रसाद घिमिरेले आफूहरुलाई राज्यले बेवास्ता गरेको गुनासो गरे । वर्षको एक दिन सहिद दिवसमा मात्रै सम्झने गरेको भएपनि अहिले सहिद दिवसमै समेत सम्झिन छोडेको उनको गुनासो थियो ।

‘हाम्रो परिवारको सदस्यले मुलुकको परिवर्तनका लागि भनेर ज्यान दिए तर मुलुकको अवस्ता जस्ताको तस्तै छ, हाम्रो अवस्था पनि उस्तै छ’, आक्रोशित हुँदै उनले भने, ‘स्वास्थ्य बीमा समेत पैसा तिरेर गर्नुपर्ने अवस्था छ । हामीलाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समेत बेवास्ता गर्ने गरेको छ ।’ सहिदको सपना पूरा गर्न सबै राजनीतिक दलदेखि मिडियाले समेत भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

मकवानपुरगढी गाउँपालिका ५ मा जन्मिएका बासुदेवले काठमाडौँको कलंकीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए । बासुदेव सहिद हुँदा ३ वर्षका छोरा अहिले उच्च शिक्षाका लागि विदेशिएका छन् । घिमिरेको घरसम्म पुग्ने बाटोको नाम बासुदेव मार्ग राखिएको छ । ५ नम्बर वडा अध्यक्ष दिपेश घिमिरेले वडाको तर्फबाट सहिद परिवारका लागि गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए ।