२०८२ बैशाख ११, बिहीबार    

वन क्षेत्रका कारण रोकियो प्रादेशिक संरचना निर्माण, राष्ट्रिय गौरवको आयोजनामा राख्न सिफारिस

२०८१ असार १७, सोमबार १४:२४ बजे

वाग्मती प्रदेश सरकार स्थापना भएको करिब ७ वर्षको अवधिसम्म पनि प्रादेशिक संरचना निर्माण कार्य अलमलमै रहेको छ ।

प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न केन्द्रीय सरकार समक्ष सिफारिस गरेको छ ।

सोमबार हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक संरचना तथा प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो । प्रादेशिक संरचना निर्माण गर्न प्रदेशले वर्षेनी बजेट विनियोजन गर्दै आएपनि विभिन्न कारणले फ्रिज हुने गरेको थियो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अनुसार हेटौंडा–१७, हटियामा प्रदेशको प्रशासनिक निकायका भवन तथा संरचना निर्माण गर्ने तयारी भइरहेको छ । आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा प्रयोग हुने भएकाले जग्गा प्राप्तिमा सहजीकरण गर्न गौरवको आयोजनाको रूपमा समेट्न सिफारिस गरिएको हो ।

‘वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने प्रावधानका अनुसार संघीय सरकार समक्ष सिफारिस गरेका हौं ।’, उनले भने ।
मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरू संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकूल नदेखिएका दफाहरू संशोधन गर्ने निर्णय गरेको हो ।

प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय समेत वैठकले गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरू परिवर्तन गर्नुपर्ने देखिएकाले विधानलाई परिमार्जनसहित परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तीको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।