नयाँ नेतृत्व चयनका लागि भएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा एकहजार ८१६ मत खसेको छ । २ हजार ९२ जना मतदाता रहेको संघको निर्वाचनमा एकहजार ८१६ मत खसेको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिए ।
वाणिज्यतर्फ एकहजार १५४, उद्योगतर्फ ५५५, एशोसियटतर्फ ८१ र वस्तुगततर्फ २६ मत खसेको उनले बताए । राती ८ बजेबाट मत गणना कार्य सञ्चालन गरिने बताइएको छ । विहान ९ देखि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको थियो । यही २४ गतेबाट सुरु भएको संघको ५८ औं वार्षिक साधारणसभा अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो । २ सचिव र ५ सदस्यसहित ७ जना निर्विरोध निर्वाचित भएसँगै एक अध्यक्ष, ४ उपाध्यक्ष, २ सचिव तथा महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित बाँकी सदस्य पदका लागि निर्वाचन भएको हो ।
संघको नेतृत्वका लागि प्रमोदसिं रानाभाट र अनिल अग्रवाल प्यानलसहित चुनावी मैदानमा रहेका थिए । महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाई) र तेजराज अधिकारी, सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डे चुनावी भिडन्तमा थिए । वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, वाणिज्यकै सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली तथा सदस्यमा राजेन्द्र लामिछाने (राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनाल (रोशन) चुनावी प्रतिस्पर्धा भएको हो ।
उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रविन्द्रप्रसाद घिमिरे तथा सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारीको चुनाव भएको हो । उद्योगको महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालबीच प्रतिस्पर्धा छ । एशोसियटतर्फको उपाध्यक्षमा विष्णु खनाल र उज्वल चौलागाई तथा एक सदस्यका लागि अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको चुनाव भएको हो । वस्तुगततर्फको उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारी, सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडा तथा एक सदस्यका लागि कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीको चुनाव भएको हो ।
संघको उद्योगतर्फको सचिवमा रुपकराज दाहाल, एशोसियट सचिवमा माधव ज्ञवाली, एशोसियटको हेटौंडा औद्योगिक क्षेत्र सदस्यमा सुकृतराज पराजुली र बहुराष्ट्रियबाट विक्रमकुमार सञ्जेल सर्वसम्मत चयन भैसकेका छन् । यस्तै वाणिज्यतर्फको महिला आरक्षण कोटामा निलम पाण्डे र निलम बजगाईं र मनहरी आरक्षणतर्फको सदस्यमा शंकरप्रसाद कालाखेती निर्विरोध चयन भएका हुन् ।