२०८१ बैशाख १३, बिहीबार    

मनिलाको आगमनपछि एमालेको वडा कमिटी नै बिसर्जन

२०७९ आश्विन १२, बुधबार १६:४० बजे

मनहरी गाउँपालिका उपाध्यक्ष समेत भइसक्नु भएकी नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्ट नेकपा एमालेमा प्रवेश गरेपछि एमालेजनमा असन्तुष्टि छाएको छ ।

पार्टीभित्र ‘अराजक’ व्यक्ति भित्रिएको भन्दै ५ नं वडा कमिटी नै भंग गरिएको छ भने जिल्ला कमिटीका सदस्य शुभराज थिङसहित ६५ जनाले हस्ताक्षर गरी नेकपा एमाले परित्यागको घोषणा गर्नु भएको छ ।

त्यसरी पार्टी छाडी स्वतन्त्र बसेको घोषणा गर्नेहरुमा निवर्तमान वडाध्यक्ष समेत रहेका जिल्ला कमिटी सदस्य शुभराज थिङ, गाउँ कमिटी उपाध्यक्ष मोहनलाल थिङ, गाउँ कमिटी सचिवालय सदस्य तथा निवर्तमान कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नं वडा सह इन्चार्ज बुद्धिराम मुक्तान, ५ नं वडा कमिटी अध्यक्ष सोमनाथ रुम्बा, उपाध्यक्ष बलराम बस्नेत लगायत छ ।

वडाध्यक्ष रुम्बाले बैठकपछि बोल्दै तल्लो कमिटीसँग राय परामर्श नै नगरी अराजक ब्यक्तिहरुलाई पार्टी प्रवेश गराइएकाले पार्टी परित्याग गरी स्वतन्त्र रहने घोषणा गर्नु भएको थियो ।

केही दिनअघि बिष्टसहित अनेरास्ववियुका नेता गोविन्द वर्ताैला, बालमुकुन्द ढकाल, बासु पौडेल, अप्सरा ढुंगाना लगायतका समाजवादीका नेताहरुलाई पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सहजीकरणमा एमाले प्रवेश गराइएको थियो । समाजवादीका हरेक नेताहरुलाई पौडेल आफैले भेटघाट र फोन गरी फकाएको स्रोतले जनाएको छ । मनहरीको आमाघर आश्रममा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने ८ जना मात्रै उपस्थित भएका थिए ।

तत्कालीन गाउँपालिका उपाध्यक्ष हुँदा वडाध्यक्षहरुसँग झगडा गरेको, अध्यक्षलाई असहयोग गरेको, कार्य अबधि २ बर्ष बाँकी हुँदा नै पदबाट राजीनामा दिएको र पछि अदालतले परमादेश जारी गरी राजीनामा खारेज गरिदिएको जस्ता घटनाहरुमा बिष्टको भूमिकालाई एमालेजनले नकारात्मक रुपमा लिएका थिए ।

पछि पार्टी फुटेपछि माधव नेपाल पक्षतिर लागेकी बिष्ट गत बैशाखको चुनावमा समाजवादीबाट उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएकी थिइन् ।