२०८१ बैशाख ७, शुक्रबार    

चेपाङ संघको अध्यक्षमा गोविन्दराम निर्वाचित

२०७९ भाद्र २४, शुक्रबार १३:३३ बजे

नेपाल चेपाङ संघको अध्यक्षमा आउँदो तीन वर्षका लागि मकवानपुरका गोविन्दराम चेपाङ निर्वाचित भएका छन् ।

नयाँ कार्य समिति चयनका लागि बिहीबार भरतपुरमा मतदान भएको थियो  । गोविन्दरामले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी चितवनकी सुनिमाया चेपाङले ९२ मत प्राप्त गरिन् । गत चैत ३ गते भरतपुरमा उद्घाटन भएको नेपाल चेपाङ संघको पाँचौँ महाधिवेशन त्यतिबेला स्थगित भएर नयाँ कार्य समिति गठनका लागि बिहीबार मतदान भएको हो ।

संघको वरिष्ठ वरिष्ट उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ चयन भएका छन् । त्यसैगरी दुई जना सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ चयन भएका छन् । महाधिवेशनले ३० सदस्यीय कार्यसमिति चयन गरेको हो । पाँचजना सदस्य मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष गोविन्दराम चेपाङले बताए ।

संविधानसभाका सदस्यसमेत भएका गोविन्दराम ६३ सालमा सम्पन्न तेस्रो अधिवेशनबाट पनि केन्द्रीय अध्यक्षमा चयन भएका थिए । चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा चेपाङहरूको मुख्य बसोबास छ । सीमान्तकृत वर्गका आदिवासी समुदाय पहाडी क्षेत्रको पाखा पखेरामा कष्टसाथ बसेका छन् । चार जिल्लामा सघन बसोबास भए पनि चेपाङहरू २६ जिल्लामा फैलिएको गोविन्दराम चेपाङले बताए । ६८ सालको जनगणनाले चेपाङको जनसंख्या देशभर ६८ हजार रहेको देखाए पनि खासमा देशभर एक लाखको हाराहारीमा चेपाङहरू रहेको उनको दाबी छ ।

विकट क्षेत्रमा बस्ने भएका कारण चेपाङहरू राज्यले दिने धेरै खाले सुविधाबाट वञ्चित छन् । ' शिक्षा, स्वास्थ्य, सडक बिजुली सबैको अभाव सहेर हामी बसेका छौँ । हाम्रो भाषा, धर्म, संस्कृति नै संकटमा परेको छ,' उनले भने ।