२०८१ जेठ ८, मंगलबार    

राक्सिराङमा बन्ने भयो आधुनिक शैलीको चेपाङ संग्रहालय

२०७८ माघ १७, सोमबार ०९:५० बजे

हेटौंडा/ राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा चेपाङ संग्रहालय निर्माण सुरु भएको छ ।

चेपाङ समुदायको संस्कृतिलाई जगेर्ना गर्ने र प्रचारप्रसार गर्ने उद्देश्यले संग्रहालय निर्माण सुरु गरिएको हो । गाउँपालिकाले डेढ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी बानियाँ सुन्दर नेपाल जेभीलाई निर्माणको ठेक्का प्रदान गरेको छ । ३ करोड ६९ लाख ७ हजार रुपैयाँमा संग्रहालय निर्माणको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । यस गाउँपालिकामा चेपाङ समुदायको बाहुल्यता रहेको छ ।

उनका अनुसार यस संग्रहालयलाई म्युजियम शैलीमा सञ्चालन गर्ने तयारी छ । ‘हामी चेपाङ समुदायको धर्म, संस्कृति, संस्कारसहित उनीहरुले प्रयोग गर्ने सामग्रीहरु विक्री वितरणका लागि समेत राख्नेछौं ।’, गाउँपालिका अध्यक्ष मल्लले चेपाङ समुदायले खाने खानेकुरालाई समेत ब्राण्डिङ गरेर आधुनिक शैलीमा संग्राहलय सञ्चालन गरिनेछ ।

यसअघि तत्कालि जिल्ला विकास समितिले निर्माण गरिदिएको सानो भवनमा संग्रहालय स्थापना गरिएको थियो । ‘अब चेपाङ समुदायलाई रोजगारी समेत सिर्जना गर्ने गरी हामीले संग्रहालय निर्माण गरिरहेका छौं ।’, उनले यस संग्रहालयलाई चेपाङ जातिको अध्ययन र अनुसन्धान गर्ने केन्द्रको रुपमा समेत विकास गर्ने तयारीमा गाउँपालिका रहेको बताए ।