२०८० चैत्र १६, शुक्रबार    

जिल्लाको १० वटा स्थानीय तहमा पाँच हजार ६ सय ८४ जना भूमिहीन

२०७९ भाद्र ६, सोमबार १६:२३ बजे

मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेका छन् ।राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्लाको १० वटा स्थानीय तहमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको जानकारी दिएको हो ।

आयोगका सदस्य सचिव समेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटै स्थानीय तहमा गरी ३ सय ७९ जना भूमिहीन दलित, २ हजार ४६३ जना भूमिहीन सुकुम्बासी र ३३ हजार ३२६ संख्याले अव्यवस्थित बसोबासीले जग्गा प्रमाण पत्रको लागि निवेदन दिएको जानकारी दिए ।

उनले जिल्लाको बागमती गाउँपालिकामा तीन भूमिहीन दलितले लाजपूर्जा प्राप्त गरिसकेको बताउँदै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको बताए । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै नै जग्गा धनी प्रमाणपत्र लालपूर्जा प्राप्त गर्ने बताए । उनले मकवानपुरमा रहेको वास्तविक भूमिहीनको पहिचान गरेर लालपूर्जा वितरण गरिने बताए ।दाहालले मकवानपुरको बागमती, बकैया गाउँपालिकाको २ वटा वडा र हेटौंडाको ११ नम्वर वडामा लालपुर्जा वितरण गर्न आवश्यक नापजाँचको काम भइरहेको बताए । उनले निर्वाचनको बेलामा उम्मेदवारहरुले लालपूर्जा दिन नसकिने स्थानमा पनि लालपूर्जा वितरण गर्छु भन्दै भूमिहिनलाई झुटो आश्वासन दिएकोसमेत बताए ।

दाहालले चुरे तथा विभिन्न वन आरक्ष क्षेत्रभित्र रहेको स्थानमा लालपूर्जा वितरण गर्न नसकिने समेत स्पष्ट पारे । उनले भूमिहीनले चालु आर्थिक वर्षमै जग्गा प्रमाण पत्र (लालपूर्जा‚ प्राप्त गर्ने दाबी गरे । आयोगका अनुसार पहिलो चरणमा भूमिहीन दलित र सुकुम्बासीलाई लाजपूर्जा दिइने छ भने दोस्रो चरणमा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिइने छ ।