२०८१ भाद्र ३०, आईतबार    

पुनर्निर्माण सम्पन्न भएकाे ५ महिना पुग्न लाग्दा पनि संचालनमा आएन चुरियामाई सुरुङ मार्ग

२०८१ श्रावण २०, आईतबार १५:३८ बजे

दक्षिण एसियामै पहिलो मानिने चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण सम्पन्न भएको ५ महिना पुग्नै लाग्दा पनि सर्वसाधारणका लागि खुला गरिएको छैन ।

प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण नगरेका कारण सुरुङका दुवैतर्फका ढोका बन्द छन् । वाग्मती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत फागुनको अन्तिम साता सम्पन्न भएको हो ।

‘प्रदेश सरकारले उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने र उपमहानगरपालिकाले चुरियामाई संरक्षण विकास समितिलाई हस्तान्तरण गर्नुपर्नेमा अहिलेसम्म उक्त कार्य हुन सकेको छैन,’ चुरियामाई संरक्षण विकास समितिका अध्यक्ष प्रेम भोम्जनले भने, ‘उपमहानगरपालिकालाई पुनर्निर्माण गरिएको सुरुङ हस्तान्तरण गर्न ताकेता गरिरहेका छौं ।’ उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई संचालनका लागि हस्तान्तरण गरिने नगर प्रमुख मीनाकुमार लामाले भनिन्, ‘पुनर्निर्माण गरिएको ५ महिना पुग्न लाग्दा पनि प्रदेश सरकारले हस्तान्तरण गरेको छैन ।’

ऐतिहासिक सुरुङ खुला गर्न सकेमा अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटक आउने समितिका अध्यक्ष भोम्जनले बताए । ‘अहिले यसो बाहिरबाट नियालेर फर्किन्छन, दुवैतर्फका ढोका बन्द छन्,’ उनले भने । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै उक्त सुरुङ मार्ग अवस्थित छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो । २०७९ वैशाख १९ गतेसम्म १९८ मिटर लम्बाईको सुरुङ मार्ग पुनः निर्माण गर्ने भनिए पनि विविध कारणले निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङ मार्गको काम सम्पन्न गरिएको हो ।

ऐतिहासिक महत्त्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सुरुङ पुनः निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिएको छ ।