२०८० चैत्र १५, बिहीबार    

गुरु–चेलाको भिडन्त कस्ले मार्ला बाजी ?

२०७९ आश्विन २८, शुक्रबार १४:११ बजे

मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग प्रतिस्पर्धामा गर्न मनोनयन दर्ता गराएका छन्, एमाले युवा नेता महेश बर्तौलाले । विगतको सम्बन्ध हेर्ने हो भने उनीहरु गुरु-चेला हुन् । कुनै समय नेता-कार्यकर्ताका रुपमा रहेका उनीहरु अब प्रतिस्पर्धीका रुपमा होमिने छन् ।

बर्तौला तिनै व्यक्ति हुन्, जो २०७४ को प्रतिनिधिसभा चुनावमा खतिवडालाई जिताउन खटिएका थिए । खतिवडाकै ‘स्कुलिङ’बाट विद्यार्थी राजनीति गर्दै बर्तौला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भए । बर्तौला विद्यार्थी राजनीतिबाट अलग्गिएको १ वर्षमै संसदीय चुनावको टिकट पाउने भाग्यमानी सावित भए । उनी २ असोज २०७८ मा ऐन महरसँगै विद्यार्थी राजनीतिबाट अलग्गिएका थिए । बर्तौलाले विद्यार्थी राजनीतिको आधार मकवनपुरमै बनाएर काठमाडौं आएकाले भूगोलको राजनीतिमा भिजिसक्न पाएका छैनन् ।

मकवानपुरका एक एमाले नेताका अनुसार बर्तौलाले यति छिट्टै संसदीय चुनाव लड्ने अवसर पाउनुमा विरोध खतिवडाले एमाले परित्याग गर्नु नै मुख्य कारण हो । ‘विद्यार्थी राजनीतिमा रहँदा उहाँले ओली गुट समात्नुभयो’, ती नेताले भने,’ओली गुटका दोस्रो तहका नेतासँग सम्बन्ध बनाएका कारण भूगोलमै बसेर राजनीति गरिरहेकाहरुलाई पन्छाएर उहाँले अवसर पाउनुभयो ।’

मकवानपुरको भीमफेदी गाउँपालिका भीमफेदी-९ नामटार घर भएका बर्तौलाले अनेरास्ववियुको इलाका कमिटीबाट विद्यार्थी राजनीति थालेका थिए । उनी मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट  २ कार्यकाल स्ववियु सभापति निर्वाचित भए ।

उनीसँगै विद्यार्थी राजनीति गरेका एक एमाले नेताका अनुसार खतिवडा २०७४ मा चुनावमा होमिँदा बर्तौला प्रचारकको भूमिकामा थिए । ‘हामी विद्यार्थी राजनीतिमा हुँदा विरोध खतिवडा लेखा विभागका सदस्य तथा पूर्व सांसदको हैसियतमा आएर धेरै पटक राजनीति तथा संगठनात्मक प्रशिक्षणहरु दिएको याद ताजै छ’, उनले भने ।

बर्तौला २ कार्यकाल अनेरास्ववियु मकवानपुरको जिल्ला अध्यक्ष समेत भएका थिए । त्यतिबेला पनि खतिवडा र उनकी पत्नी तथा एमाले नेता मुनु सिग्देलले बर्तौलासहितका तत्कालिन जिल्ला तहका विद्यार्थी नेताहरुलाई पटक-पटक प्रशिक्षण दिने गरेका थिए ।

बर्तौलाको घर नामटार विरोध खतिवडाकै निर्वाचन क्षेत्र मकवानपुर-२ मा पर्ने भएकाले उनीहरुबीच संगठनात्मक रुपमा पनि सहकार्य हुने गरेको थियो ।

नेकपा एमाले नगर कमिटीका सचिव बोलबहादुर कार्की बर्तौला र खतिवडा जनआन्दोलनका बेला एकैपटक हिरासतमा थुनिएको स्मरण गर्छन् । एमाले मकवानपुरको जिल्ला अधिवेशन ताका एउटा भेटमा खतिवडाले अनेरास्ववियुको जिल्ला अध्यक्ष रहेका बर्तौलाबारे भनेको कुरा उनलाई अहिले पनि उनलाई झलझली याद छ ।

‘महेश दाइले पार्टीको जिल्ला अधिवेशनमा एउटा गहकिलो भाषण दिनुभएको थियो,’ कार्कीले भने, ‘अधिवेशन सकेर बसेपछि विरोध खतिवडाले महेश भाइ एक दिन सांसद बन्छ, त्यतिबेला मैले सघाउने दिन आउँछ भन्नुभएको थियो ।’

उनी खतिवडा र बर्तौलाको विगतको समबन्धलाई गुरु-चेला या नेता-कार्यकर्ता जे नाम दिए पनि फरक नपर्ने बताउँछन् । खतिवडा र बर्तौलाबीचको व्यक्तिगत सम्बन्ध सुमधुर रहेको भन्दै कार्कीले चुनावी प्रतिस्पर्धा मित्रवत हुने बताए ।

खतिवडा यसपटक पनि निर्वाचित भए पाँचौं पटक सांसद बन्ने भाग्यमानी सावित हुनेछन् । २०७४ सालको निर्वाचनमा खतिवडाले कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय डिनालाई ११ हजार ९६३ मतान्तरले हराउँदै जित हात परेका थिए । खतिवडाले ४४ हजार ७४४ मत ल्याएका थिए भने पराजित भएकी डिनाले ३२ हजार ६ सय ८१ मत ल्याएकी थिइन् ।

योसँगै उनी चौथोपटक सांसद बनेका थिए । उनी १८ वर्षपछि फेरि संसदमा फर्किएर स्वास्थ्य तथा जनसंख्यामन्त्रीसम्म बने ।

खतिवडा ०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए । तर, हारे । त्यसपछि खतिवडा ०४८ सालमा जनमुखी नेता रुपचन्द्र विष्टलाई पराजित गर्दै सांसद बने । ०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई हराए । ०५१ सालको मध्यावधि चुनावमा पनि खतिवडाले डिनासँग प्रतिस्पर्धा गरेका थिए । तर, कांग्रेस सो चुनावमा तेस्रो भएको थियो ।

०५६ सालको चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हिरण्यलाल श्रेष्ठलाई हराएका थिए । अहिले उनका सामु उनै चेला महेश बर्तौला प्रतिद्वन्द्वीका रुपमा छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदरवार बनेका खतिवडा र एमाले-राप्रपा गठबन्धनकामा बर्तौलाबीचको चुनावी भीडन्त रोचक हुने निश्चित छ ।